गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २८ गते । वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले स्वास्थ्य उपचारबापत प्राप्त गर्ने आर्थिक सहयोग लिनेको सङ्ख्या बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आव २०८२/८३ मा आर्थिक सहायता लिने श्रमिकका परिवारको सङ्ख्या बढेको हो ।
गत आवको तीन महिनामा ७८ जना श्रमिकका परिवारले स्वास्थ्य उपचारबापत आर्थिक सहायता लिएकोमा चालु आवको सो अवधिमा ९७ जना श्रमिकका परिवारले सहायता लिएको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले प्रतिबिरामी ५० हजार रुपियाँसम्म आर्थिक सहायता प्रदान गर्छ । बोर्डका अनुसार आर्थिक सहायता क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किनसन र अल्जाइमर जस्ता गम्भीर प्रकृतिका रोग लाग्दा पाइने व्यवस्था बोर्डले गरेको छ ।
बोर्डका अनुसार आव २०८०/८१ मा २६५ जना श्रमिकका परिवारलाई एक करोड ३२ लाख रुपियाँ आर्थिक सहायता दिइएकोमा गत आवमा २०८१/८२ मा ३४४ जनाले एक करोड ७२ लाख आर्थिक सहायता लिएका थिए । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारका सदस्यमा गम्भीर प्रकृतिका रोगको उपचारमा थोरै भए पनि राहत होस् भनेर प्रतिव्यक्ति ५० हजार रुपियाँ सहयोग रकम उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । यसका लागि सरकारले ‘श्रमिकका परिवारको स्वास्थ्य उपचारसम्बन्धी मापदण्ड, २०७३’ भनेर छुट्टै मापदण्डसमेत बनाएको छ । श्रमिक आफैँले पालनपोषणको जिम्मा लिएको पतिपत्नी, छोराछोरी, आमाबुवा र महिला श्रमिकको हकमा सासूससुराले समेत यस्तो सुविधा पाउने व्यवस्था मापदण्डमा छ ।
मापदण्डमा तत्काल शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधी सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपियाँ पाइने व्यवस्था उल्लेख छ । यसका लागि वैदेशिक रोजगारीमा रहेका आफ्नो परिवारका सदस्यको श्रम स्वीकृतिको प्रतिलिपि पेस गर्नु पर्छ ।
यस्तै राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकताको प्रतिलिपि, श्रमिक र बिरामीबिचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग खुल्ने गरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्व्रिmप्सन’ वा सिफारिसपत्रसमेत पेस गर्नुपर्ने परिवार स्वास्थ्यसम्बन्धी मापदण्डमा उल्लेख छ ।