गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २८ गते । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका १७ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको अधिकृत तथा जारी पुँजी ८० करोड रुपियाँ रहेको छ । यसमध्ये जारी पुँजीको २२ प्रतिशत बराबरको १७ करोड ६० लाख रुपियाँका अङ्कित मूल्य एक सय रुपियाँका साधारण सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
फेदीखोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।
सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गर्नुभएको छ । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बग्ने फेदी (थुमलुङ) खोलामा निर्माणाधीन ४.३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको कुल लागत करिब ९४ करोड रुपियाँ छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र आयोजनालाई २०८२ माघभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको दुलालले जानकारी दिनुभयो ।