रामकृष्ण बोहरा
बागलुङ, कात्तिक २५ गते । कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्डको काम अलपत्र पर्दा यात्रीले हैरानी खेपेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्दा आम नागरिक र स्थानीयले पनि समस्या भोग्दै आउनुभएको छ । राज्यको लगानी पनि खेर गइरहेको छ ।
यो समस्यालाई बेलैमा सम्बोधन नगरेमा भइसकेको काम समेत बिग्रने र थप आर्थिक समस्या बढ्ने भएपछि जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केही दिनअघि काठेखोला गाउँपालिकाका जनप्रतिनिधिले लोकमार्ग ठप्पै पारिदिने चेतावनीपछि ठेकेदार पक्षले काम थालेको छ । तर त्यो कामको सुनिश्चितता अझै भइसकेको छैन ।
गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रको काम ढिलाई भएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले मन्त्रीलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । दुइ राजमार्गसहित महत्त्वपूर्ण रणनीतीक सडकहरु पनि कहिले बजेट अभावमा त कहिले ठेकेदार र आयोजनाको लापरबाहीले अलपत्र पर्दै आएको उहाँले मन्त्री घिसिङलाई जानकारी गराउनुभएको थियो ।
कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको १० किमी र लोकमार्गको बागलुङ– घोडाबाधे सडकखण्ड २५ किमी निर्माण समस्याग्रस्त अवस्थामा रहेकोले मन्त्रालयले अत्यावश्यक हस्तक्षेपका लागि अनुरोध गर्दै ध्यानकर्षण गराइएको सुवेदीले बताउनुभयो ।
कालीगण्डकी करिडोर निर्माण कार्य करिब चार वर्षअघि ठेक्का प्रक्रियामार्फत खड्का कृष्ण बि.एन.जेभी कन्स्ट्रक्सनलाई दिइएको भएपनि, सम्झौतामा तोकिएको समयमा काम नभएको हो । पटक पटक म्याद थपेर पनि ठेकेदारले काम पुरा गरेका छैनन् । लोकमार्गको काम पनि २०७३ देखि अलपत्र छ । भारत सिद्दिसाई संयुक्त निर्माण कम्पनी र तत्कालीन सूर्य कन्स्ट्रक्सनले काम अलपत्र पारेको हो ।
२०७२ माघ १० को ठेक्काको कामबाट नौ वर्षमा ५५ प्रतिशत प्रगती समेत देखाउन नसकेपछि कालोसूचीमा परेर रद्द भई गतवर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो । २०८१ असारमा सम्झौता गरी २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि कामै नथालेपछि स्थानीय आक्रोसित हुनुहुन्छ ।
उहाँहरुले पटक पटक प्रशासनमार्फत ठेकेदारलाई झिकाउन माग गर्दै आउनुभएको छ । स्थानीयहरुले पटक–पटक दबाब दिएपनि सुनुवाइ नहुँदा आगामी मङ्सिरदेखि सो सडक पूर्णरुपमा अवरुद्ध गर्ने चेतावनी समेत दिएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
दैनिक हजारौं यात्रुहरूको आवतजावतसँग प्रत्यक्ष जोडिएका यस्ता महत्त्वपूर्ण सडकमा वर्षेनी बजेट विनियोजन हुँदाहुँदै पनि ठेकेदारको लापरबाहीका कारण कार्य सम्पन्न नभएपछि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउन बाध्य भएको सुवेदीले बताउनुभयो ।
करिडोरको बलेवा–हर्मिचौर खण्ड सडक कालोपत्रे भै सकेको छ भने लोकमार्गको पनि बिहुँ पातिहाल्ने सडक कालोपत्रे भइसकेको छ । मन्त्री घिसिङले तुरुन्त आवश्यक काम कारबाही अगाडि बढाउने र निर्माण कम्पनीलाई तत्काल काम सुरु गरेर सम्पन्न गर्नका लागि आग्रह गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुवेदीसँगै काँग्रेस नेता लक्ष्मण आचार्य लगायतका व्यक्तिहरु मन्त्री घिसिङलाई ध्याकर्षण पत्र बुझाउन पुग्नुभएको थियो ।