दैलेख समाचारदाता
दैलेख, कात्तिक २५ गते । दैलेखका एक निर्माण व्यवसायीले कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय दैलेखबाट ठेक्का गरिएको ताराघाट खोला मोटरेबल पुल निर्धारित समयभन्दा आठ महिनाअगावै सम्पन्न गरेका छन् । मूल्य वृद्धि, दक्ष कामदारको अभावलगायतका कारण देखाउँदै सार्वजनिक पूर्वाधार निर्माणका लागि पेस्की लिने र तोकिएको समयमा निर्माण पूरा नगरी पटक पटक म्याद थप गर्दासमेत अलपत्र पार्ने क्रम बढ्दै गएको छ । दैलेखको नारायण नगरपालिका–महाबु गाउँपालिका जोड्ने गरी ताराघाट खोलामा पक्की पुल निर्माणको ठेक्का लिएको कन्स्ट्रक्सनले ठेक्का सम्झौताको आठ महिनाअगाडि नै काम सम्पन्न गरेको हो ।
पुल निर्माणको ठेक्का लिएको आरबी कन्स्ट्रक्सनले २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी तीन करोड ६२ लाख ७६ हजार ३६३ रुपियाँमा सम्झौता गरी २०८१ वैशाख १० गते निर्माण कार्यादेश पाएको थियो । कर्णाली प्रदेश सभाका सदस्य कृष्णकुमार बिसीले आइतबार उक्त पुलको शिलान्यास गर्नुभयो । महाबु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाशबहादुर थापाले निर्माण व्यवसायीले गरेको मेहनतका कारण समयसीमाअगावै पुल निर्माण हुनु महाबु गाउँपालिकावासीका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले पुल निर्माण भएसँगै वर्षायामको समयमा समेत महाबु गाउँपालिकाका नागरिकलाई खोलाबाट हिँड्नुपर्ने बाध्यता अन्त्य भएको जनाउनुभयो ।
आरबी कन्स्ट्रक्सनका सञ्चालक रूपक थापाले पुल निरन्तरको प्रयास र प्रतिबद्धता अनुसार तोकिएको समयसीमाअगावै पुल निर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले निर्माण कम्पनीले ठेक्का नहाल्ने र हालेको ठेक्का समयअगावै बुझाउने काम कन्स्ट्रक्सनले गरेको बताउनुभयो । डिभिजन वन कार्यालयको भवन, मध्यपहाडी राजमार्ग अन्तर्गत आठबिस नगरपालिका–१, सात्तलाको काउले खोलाको पुल, चुप्रा कालभैरव जोड्ने पुल, नौमुले रापट जोड्ने पुल र कट्टी खोलाको पुल निर्माण समयसीमाअगावै आफूहरूले निर्माण गरेको भन्दै उहाँले कट्टी खोलामा समयसीमाअगाडि नै पुल निर्माण गरेका कारण कन्स्ट्रक्सनले छ लाख पुरस्कारसमेत पाएको बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख सिडिई प्रवीण कार्कीले ठेकेदार र कार्यालयको निरन्तर प्रयासका कारण ३० मिटर लामो मोटरेबल पुल समयसीमाअगावै पुल निर्माण गरिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले तोकिएकै समयमा पुल निर्माण गरिएको अर्को छामघाट खोलाको पुलको कामसमेत छिटै सक्ने तयारीका साथ काम भइरहेको जानकारी दिनुभयो ।