नौरते नेपाली
सिँजा (जुला), कात्तिक २५ गते । जुम्लामा निर्माणाधीन बृहत् धौलिगाड खानेपानी आयोजनाको पहिलो प्याकेज निर्माण अलपत्र परेको छ । एक अर्ब २६ करोड लागतको आयोजना सुरु भएको पाँच वर्षमा पनि पहिलो प्याकेजको काम पूरा भएको छैन । २०६६ सालबाट निर्माण सुरु भएको आयोजना बिचमा विभिन्न कारणले अधुरो रहेको थियो ।
२०७८ साल चैत ५ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेपछि ठेकेदार कम्पनीले निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजनाको पहिलो प्याकेजको काम पूरा भएको छैन । दुई प्याकेजमा काम भइरहेको उक्त आयोजना अन्तर्गत दोस्रो प्याकेजको धारा निर्माण गर्ने, पाइप लाइन विस्तार गर्ने, ट्याङ्की निर्माण गर्नेलगायतका काम भइसकेका छन् । तर मुख्य मुहान क्षेत्रमा भने अहिलेसम्म कुनै काम सुरु भएको छैन । मुहान क्षेत्रमा पाँच हजार एक सय मिटर प्रिइन्सुलेट (पानी नजम्ने) पाइप बिछ्याउने स्टिमेट छ तर हालसम्म पाइप खरिदको टुङ्गो नलाग्दा पहिलो प्याकेजको काम हुन नसकेको निर्माण कम्पनीले बताएको छ ।
प्रिइन्सोलेट पाइप चीन, सिङ्गापुरमा मात्रै पाइने र खरिदका लागि खानेपानी विभागले स्वीकृति प्रदान गर्नुपर्ने भए पनि पटक पटक स्वीकृति माग गर्दा विभागले वास्ता नगरेपछि मुहान क्षेत्रको काम अघि नबढेको आयोजनाका साइट इन्जिनियर दिपेश शाहले बताउनुभयो । धौलिगाड खानेपानी आयोजना निर्माणको ठेक्का ‘कालिका सिएबी कनकाई जेभी’ ले पाएको छ । निर्माण कम्पनीका साइट इन्जिनियर शाहका अनुसार हालसम्म चार पटक विभागमा पाइप खरिदको स्वीकृतिका लागि माग गरिएको छ । उहाँले भन्नुभयो, “प्रिइन्सुलेट पाइप खरिदबिना अन्य संरचना बनाएर काम छैन । खरिदका लागि विभागले स्वीकृति दिए खरिद गरेर नेपाल ल्याउन कम्तीमा छ महिना लाग्छ ।”
स्वीकृति नपाउँदा मुहानमा काम शून्य भएको छ । स्वीकृतिका लागि २०८० साल वैशाख ६ गते पहिलो पटक, २०८१ कात्तिक ६ गते दोस्रो, २०८१ मङ्सिर १० गते तेस्रो र २०८२ जेठ ६ गते गरी चौथो पटकसम्म स्वीकृतिका लागि विभागमा पत्र पठाइएको छ । विभागले कुनै चासो नदिँदा चिसोमा पानी नजम्ने प्रिइन्सुलेट पाइप खरिदमा ढिलाइ भएको र पहिलो प्याकेजको काम अलपत्र भएको छ । पाइप खरिदका लागि कुल चार करोड बजेट छुट्याइएको छ । आयोजनाबाट जुम्लाका गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका झन्डै ६० हजार नागरिक लाभान्वित हुने छन् भने नौ हजार खानेपानी धारा निर्माण हुने छन् । हालसम्म तीन हजार धारा निर्माण भइसकेका छन् ।
कुल एक अर्ब २६ करोड आयोजनाको पहिलो प्याकेजको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७६ प्रतिशत भएको छ । दोस्रो प्याकेजको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत भएको साइट इन्जिनियर शाहले जानकारी दिनुभयो । पहिलो प्याकेजको आगामी फागुन १४ गते र दोस्रो प्याकेजको आगामी मङ्सिर ११ गते समय सकिँदै छ ।