बुलबुले समाचारदाता
सुर्खेत, कात्तिक २५ गते । चालु आर्थिक वर्षमा सम्झौता भई अघि बढ्नुपर्ने आयोजना ठेक्का प्रक्रियाका काम ठप्प भएका छन् । पूर्वी सुर्खेतमा निर्माणाधीन भेरीगङ्गा नयाँ सहर आयोजना पनि त्यसबाट प्रभावित बनेको छ । भेरीगङ्गा नयाँ सहर आयोजना निर्माणका लागि नयाँ ठेक्का सम्झौता नहुने भएका छन् । जेनजी आन्दोलनका कारण अर्थ मन्त्रालयले बजेट रोक्का गरेका कारण नयाँ ठेक्का सम्झौता भएर काम अघि नबढ्ने भएका हुन् । अर्थ मन्त्रालयले तत्काल प्राथमिकतामा निर्वाचन गराउने र दायित्व सिर्जना भएका आयोजना अघि बढाउने भएकाले नयाँ ठेक्का नहुने परिपत्र गरेको आयोजनाले जनाएको छ । यो वर्ष पाँच वटा आयोजना ठेक्का सम्झौताको तयारीमा रहेका थिए । भेरीगङ्गा नगरपालिकाको भवन, सडक निर्माणलगायतका पूर्वाधार पाँच वटा योजना बन्न लागेका थिए । तीन/तीन करोडमा ठेक्का सम्झौताको तयारी थालिएको आयोजनाले जनाएको छ ।
यो वर्ष नयाँ योजना सम्झौता नहुने आयोजना प्रमुख प्रदीप खनालले बताउनुभयो । जेनजी आन्दोलनका कारण बजेट रोक्का भएको भन्दै बजेट फुकुवा भएमा मात्र नयाँ ठेक्का आह्वान गरिने उहाँले जानकारी दिनुभयो । अघिल्ला वर्षहरूमा दायित्व सिर्जना भएका योजना पनि निरन्तर रूपमा अघि बढाइने उहाँले बताउनुभयो । गत वर्ष तीन वटा आयोजनाको ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको आफ्नै भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गुर्भाकोट नगरपालिका–१२ मा आयोजनाको भवन निर्माणको काम धमाधम भइरहेको हो । अहिलेसम्म ९० प्रतिशत काम सकिएको आयोजना प्रमुख खनालले बताउनुभयो । अन्य दुई वटा पूर्वाधार निर्माणका कामसमेत धमाधम भइरहेका छन् । आयोजना अन्तर्गत धेरै जसो पूर्वाधार निर्माणका काम भइरहेका छन् ।
भेरीगङ्गा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधारको निर्माण थालिएको छ । उक्त आयोजनाको तीन/तीन करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । यसअघि भेरीगङ्गा नगरपालिका–१२, छिन्चुमा हाटबजार निर्माण भेरीगङ्गा नगरपालिका–९ मा बसपार्क निर्माण, गुर्भाकोट नगरपालिका–८ खटाङ्गमा मन्दिर निर्माण गरिएको छ । यस्तै भेरीगङ्गा नगरपालिका–६ मा कसेराटोल र बसेरा टोल जोड्ने सडक निर्माण भएका छन् । यसै गरी भेरीगङ्गा नगरपालिका–१०, बराहडाँडा मन्दिर पूर्वाधार निर्माणको काम भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत पूर्वाधार निर्माणको काम थालिएको हो । आयोजना प्रमुख खनालले बसपार्क निर्माण, पर्यटकीय क्षेत्रको प्रवर्धन, सहरी सडक निर्माणलगायतका कार्य भइरहेको जानकारी दिनुभयो ।