अदानचुली (हुम्ला), कात्तिक २५ गते । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिनुभयो ।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताउनुभयो ।
घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताउनुभयो । रासस