सुधा देव
भारदह(सप्तरी), कात्तिक २५ गते । राजविराज नगरपालिकामै रहेको एक विद्यालय १६ वर्षदेखि सौचालय बिनै सञ्चालनमा रहेको छ ।
राजविराज नगरपालिका १० कदमाहास्थित रहेको श्री गायत्री जगदीश सावित्री सुध आधारभूत विद्यालय १६ वर्षदेखि शौचालय बिनै सञ्चालनमा रहेका कारण विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी खुला आकाशमुनि दिसापिसाब गर्न बाध्य छन् ।
मुसहर समुदायको बाहुल्यता भएको समुदायलाई ध्यानमा राखेर २०६६ सालमा शिक्षा कार्यारलय सप्तरीबाट अनुमति लिएर सञ्चालनमा गरेको यस विद्यालयमा हाल बालविकासदेखि कक्षा चारसम्म सञ्चालनमा रहेको छ ।
शौचालयविहीन रहेको यस विद्यालयमा रहेको जम्मा दुईवटा कोठा मा बालविकाससहित पाँचवटा कक्षा सञ्चालनमा रहेको छ भने त्यहीँ दुईवटा कोठामा विद्यार्थीका लागि खाजा तयार पार्ने काम र विद्यालयको कार्यालय समेत सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सुष्मा यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘६४ जना विद्यार्थी रहेको यस विद्यालयमा कक्षा कोठा थप्नका लागि पटकपटक सम्बन्धित निकायमा निवेदन दिए पनि हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन । यस विद्यालयसम्म आउन जान विद्यार्थीलाई बाटोको समेत सुविधा नभएपछि खेतको आलीबाट विद्यालय आवतजावत गर्नुपर्ने बाध्यता छन् ।’’
विद्यायमा एक जना राहत र चार निजी स्रोतको गरी पाँच जना शिक्षक शिक्षिका कार्यरत छन् । सोही वडाका मट्टीगढीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय मट्टीगढीमा पनि बालविकासदेखि कक्षा पाँचसम्म सञ्चालनमा रहेको विद्यालयमा समेत चार वटा कोठामा ६ वटा कक्षा सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘कोठाको समस्यासँगै विद्यालयको व्यवस्थापन गर्न आवश्यक छ ।’’
इन्टेलेक्चुअल नेपाल सप्तरीका अध्यक्ष एवम् शैक्षिक अभियन्ता डा.सूर्याप्रसाद यादवले राजविराज नगरपालिका भित्रको केही विद्यालयहरूलाई मर्ज गरेर थप व्यवस्थापन गरेर सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
वडाको विद्यालयमा पटकपटक अनुगमन र निगरानी गर्दै आएकाले विद्यालयको अवस्थाको विषयमा जानकार रहेको राजविराज नगरपालिका १० का वडा अध्यक्ष गंगाराम खंगले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गायत्री जगदीश सावित्री सुध आधारभूत विद्यालयमा भनेको डाटाभन्दा एकदमै न्यून विद्यार्थी रहेकाले विद्यार्थीको सङ्ख्या बढाएर गुणस्तरीय शिक्षा नदिएसम्म यस विद्यालयमा थप केही गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मट्टीगढीको विद्यालयको समस्या समाधानका लागि बजेट छुट्टयाएको छु ।’’