• २५ कात्तिक २०८२, मङ्गलबार

निःशुल्क औषधीले काम नगरेको गुनासो

blog

बैतडीका स्वास्थ्य संस्थाकोे वार्षिक समीक्षा कार्यक्रम । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, कात्तिक २५ गते । स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संस्थामा आपूर्ति हुने औषधीको गुणस्तरबारे गुनासो गरिएको छ । स्वास्थ्य संस्थाले निःशुल्क वितरण गर्ने सिटामोलले काम नगरेपछि बिरामी निजी मेडिकल धाउन बाध्य हुने गरेको समीक्षा कार्यक्रममा चर्चा गरिएको छ । 

स्वास्थ्य कार्यालय बैतडीले आइतबार सदरमुकामको गोठालापानीस्थित जिल्ला अस्पतालको सभाहलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि, जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मी, नागरिक अगुवा र कार्यालय प्रमुख सहभागी थिए । 

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले स्वास्थ्य संस्थाले वितरण गरेको सिटामोलले टाउको दुखेको निको नभएपछि नागरिकहरू मेडिकल धाउन बाध्य भएको आफूले प्रत्यक्ष देखेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई दिनअघि म सिगास गाउँपालिका–६ पुग्दा एक बिरामीले सिटामोल फालेको देखेँ । किन त्यस्तो गरेको भनेर सोधपुछ गर्दा स्वास्थ्य संस्थाको सिटामोलले काम नगरेपछि निजी मेडिकलको औषधी किनेर ल्याएको भन्दै देखाए । यस्तो किन भइरहेको छ ? नागरिकले नबुझेका हुन् कि स्वास्थ्य संस्थाको औषधीले साँच्चै काम नगरेको हो ?” कार्यक्रममा सहभागी दशरथ चन्द नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भुवन जोशीले सार्वजनिक खरिद ऐन अनुसार औषधी खरिद गर्ने गरिएको बताउनुभयो । ऐन कानुनले जे भन्छ, त्यही अनुसार काम गर्नु परेको उहाँले बताउनुभयो । 

औषधी आपूर्तिका लागि बोलपत्र आह्वान गर्दा ११ लाख रुपियाँमै आपूर्ति गर्छु भनेर थुप्रै आपूर्तिकर्ता आएको बताउँदै उहाँले कसैले ३० लाख रुपियाँ बराबरको औषधी ११ लाखमै आपूर्ति गर्छु भनेर कबोल गरेपछि सार्वजनिक खरिद ऐन अनुसार सोही आपूर्तिकताबाट किन्नुपर्ने बाध्यता सुनाउनुभयो । त्यति महँगो औषधी त्यति सस्तोमा कसरी ल्याउँछ त्यहाँ पक्कै पनि गुणस्तरको समस्या पनि हुने गरेको उहाँले टिप्पणी गर्नुभयो । 

ऐन नै संशोधन गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले बजेट टुक््रयाएर कोटेसनमार्फत औषधी किन्दा लेखा परीक्षकले बेरुजु ठहर गर्ने भएकाले त्यसो गर्न नमिल्ने बताउनुभयो । जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाले वार्षिक २५ देखि ३० करोड रुपियाँको औषधी खरिद गर्दै आइरहेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा उपचार सेवा पाउने लक्षित जनसङ्ख्या दुई लाख ३५ हजार रहेको छ । 

आधारभूत स्वास्थ्य उपचारको जिम्मेवारी स्थानीयको भएकाले सो सरकार आफैँमा अधिकारसम्पन्न भएकाले खरिद हुने औषधीको गुणस्तरबारे ख्याल गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।  कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जिम्मेवार भएर गुणस्तरीय उपचार सेवा दिनुपर्ने बताउनुभयो ।