जनार्जन खत्री
सर्लाही, कात्तिक २५ गते । स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै प्रथम भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति सूचकको मूल्याङ्कनका आधारमा ११ नगरपालिका र नौ गाउँपालिकामध्ये लालबन्दी नगरपालिका ९९ अङ्क प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो । स्वास्थ्य सेवा प्रवाहमा पहिलो बन्न सफल लालबन्दी नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी रामुकाज कडरिया र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले प्रशंसा–पत्रसहित सम्मान गर्नुभएको छ ।
नगरप्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी, सुरेन्द्र खतिवडालगायत भएर सम्मान ग्रहण गर्नुभएको छ । यस्तै स्वास्थ्य कार्यक्रमहरुको मूल्याङ्कनको आधारमा विष्णु गाउँपालिका ९६.७० अङ्कसहित दोस्रो र हरिपुर नगरपालिका ९६.२० अङ्क ल्याएर तेस्रो भएका स्वास्थ्य कार्यालय सर्लाहीका तथ्याङ्क अधिकृत लालबाबु रायले जानकारी दिनुभयो ।
रायका अनुसार ९५.४० अङ्क प्राप्त गरी हरिवन नगरपालिका चौंथो र ९४.२० अङ्क प्राप्त गरी बसबरिया गाउँपालिकामा पाँचौं बनेका छन् । यि पाँच पालिकालाई स्वास्थ्य कार्यक्रमहरुको प्रगति विश्लेषणको आधारमा (ए प्ल) ग्रेडिङ प्रदान गरिएको छ ।
त्यस्तै, स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा चक्रघट्टा गाउँपालिका ८८.९०, पर्सा गाउँपालिका ८८.६०, ईश्वरपुर नगरपालिका ८८.१०, धनकौल गाउँपालिका ८८.१०, बागमती नगरपालिका ८४, चन्द्रनगर गाउँपालिका ८३.९०, बरहथवा नगरपालिका ८३.३०, ब्रह्मपुरी गाउँपालिका ८०.९० र मलङ्गवा नगरपालिका ८०.८० अङ्क प्राप्त गरी ‘ए’ ग्रेडिङमा परेका छन् ।
त्यसैगरी, गोडैता नगरपालिका ७८.३०, बलरा नगरपालिका ७७.८०, कौडेना गाउँपालिका ७७.८०, हरिपुर्वा नगरपालिका ७१.७०, कविलासी नगरपालिका ७०.७० र रामनगर गाउँपालिका ७० अङ्क प्राप्त गरी ‘बी प्लस’ ग्रेडिङमा परेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम, मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर, कुपोषित बालबालिका, क्षयरोग तथा एजआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति, सम्बन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मूल्याङ्कन हुने गरेको छ ।