काठमाडौँ, कात्तिक २५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्द लिङ्देनले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवद्वारा मङ्गलबार फाल्गुनन्द जयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा उहाँले विवाहमा दाइजो लिन नहुने, जीव हत्या नगरी भगवानको पूजा गर्ने, मद्यपान तथा मासु सेवन नगर्ने र मृत्यु संस्कारलाई मितव्ययी बनाउने जस्ता उपदेशहरू दिएर समाजलाई कुसंस्कृति र आडम्बरबाट मुक्त गर्ने प्रयास गर्नुभयो उल्लेख छ ।
‘‘महागुरु फाल्गुनन्दले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँले विवाहमा दाइजो लिन नहुने, जीव हत्या नगरी भगवानको पूजा गर्ने, मद्यपान तथा मासु सेवन नगर्ने र मृत्यु संस्कारलाई मितव्ययी बनाउने जस्ता उपदेशहरू दिएर समाजलाई कुसंस्कृति र आडम्बरबाट मुक्त गर्ने प्रयास गर्नुभयो ।,’’ उहाँले भन्नुभयो, ‘‘उहाँको यो उच्च आदर्श र पवित्र उद्देश्य किराँत समुदायका लागि मात्र नभई सम्पूर्ण नेपाली समाजका लागि अनुकरणीय मार्गदर्शन हो ।’’
उपराष्ट्रपति यादवले उहाँका प्रेरणादायी उपदेशहरूले हामीलाई आफ्नो संस्कृति र परम्परालाई भड्काउलोपन र महँगोपनबाट जोगाउँदै मितव्ययी र संयमित जीवनशैली अपनाउन प्रेरित गर्ने बताउनुभयो । यसले हाम्रो सामाजिक, धार्मिक तथा सांस्कृतिक विविधतालाई जीवन्त राख्न महत्वपूर्ण सहयोग पुग्दछ ।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अन्तर्गत रहेका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानहरूलाई एक आपसमा सद्भाव, सहिष्णुता र भाइचाराको सूत्रमा बाँधोस् । उहाँले देखाउनुभएको सत्मार्ग र नैतिक निष्ठालाई आत्मसात गर्दै राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई थप सुदृढ बनाउँदै मुलुकको विकासको महाअभियानमा एकजुट हुन सम्पूर्ण नेपालीलाई प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछु ।