टोपलाल अर्याल
रेसुंगा(गुल्मी), कात्तिक, २५ गते । गाउँमा प्राय देउँसीभैलो रमाइलो र वनभोज जाने पैसा जम्मा पार्न खेल्ने गरिन्छ । तर गुल्मीको मुसिकोट नगरपालिका–१ को देउसी भैलो समूहले तिहारमा खेलेको देउसी भैलोको रकमबाट सामाजिक कामको उदाहरण प्रस्तुत गरेको छ । पौदी अमराई देउँसीभैलो समूहले वडा नं. १ भित्रका सामुदायिक विद्यालयहरुमा स्टेशनरी सामग्री वितरण गरेको हो ।
मौलिक कला र संस्कृतिको संरक्षण गर्न तिहारमा खेलिएको देउँसीभैलोबाट फजुल खर्च नगरेर केही न केही सामाजिक काममा प्रयोग गर्ने उद्देश्यले वडा नं. १ भित्रका पाँच वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १४० जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको देउँसी भैलो समूहका संयोजक आशिष केसीले जानकारी दिनुभयो । देउँसीभैलो समूह प्रत्येक विद्यालयमै पुगेर विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका थिए । पौदीअमराइस्थित नेपाल राष्ट्रिय सर्वोद्वय माविका २२ जना, सरस्वती मावि थामडाँडाका २१ जना, जनज्योति मावि अरेवाका १४ जना, भगवती आधारभूत विद्यालयका आठ जना र छत्र आधारभूत विद्यालयका १२ जना जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको देउँसी भैलो समूहका संयोजक केसीले बताउनुभयो ।
उहाँले अझै केहि विद्यालयमा पनि शैक्षिक सामग्री वितरण गरिने बताउनुभयो । देउँसीभैलो समुहकी उपसंयोजक पवित्रा श्रीसले विगतदेखिनै देउसी भैलोबाट उठेको रकमबाट सामाजिक क्षेत्रमा कार्य गर्दै आएको सानो सहयोगबाट विद्यार्थीहरुलाई ठुलो खुसी दिन सकेको बताउनुभयो । नेपाल राष्ट्रिय सर्वोद्वय माध्यमिक विधालयका प्रधानाध्यापक चिरञ्जीवी थापाले देउँसी भैलो समुहले विद्यालय र विद्यार्थीका लागि गरेको कार्य उदाहरणीय भएकाले समाजमा सकारात्मक सन्देश दिने पनि बताउनुभयो ।