• २५ कात्तिक २०८२, मङ्गलबार

डुम्रे–बेसीशहर–चामे सडक दैनिक छ घण्टा बन्द

blog

अमरराज नहर्की
तनहुँ, कात्तिक २५ गते ।
डुम्रे–बेसीशहर–चामे सडकखण्ड दैनिक छ घण्टा अवरुद्ध भएको छ । भानु नगरपालिकाको तुरतुरे–चाम्बास खण्ड दैनिक छ घण्टा सोमबारदेखि मङ्सिर ५ गतेसम्म अवरुद्ध भएको हो । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि सडक बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार सडक विस्तारका क्रममा सम्भावित दुर्घटना जोखिम न्यूनीकरण र कामको प्रगतिमा सहजता ल्याउन ‘डुम्रे–बेँसीसहर–चामे सडक योजना’को अनुरोधमा अस्थायी रूपमा यातायात आवागमन रोकिएको हो । प्रशासकीय अधिकृत विकास श्रेष्ठका अनुसार सो खण्ड बिहान ६ः३० देखि ९ बजेसम्म, बिहान ११ देखि दिउँसो १ बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म बन्द गरिएको छ ।

उक्त समयमा सवारीसाधनका लागि तुरतुरे–पालुङटार–खत्रीटार हुँदै विमलनगर जाने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । सडक विस्तारका क्रममा सर्वसाधारणलाई असुविधा नहोस् भन्ने उद्धेश्यले वैकल्पिक बाटोको व्यवस्थापन र यातायात जानकारीका सूचना बोर्डसमेत राखिएको  छ ।