खलङ्गा समाचारदाता
जाजरकोट, कात्तिक २४ गते । जाजरकोटका तीन वटा सरकारी कार्यालयले दुई वर्षदेखि एउटै भवनबाट सेवा दिन बाध्य छन् । २०८० कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले भेरी नगरपालिका–३, थाप्लेमा रहेको मालपोत कार्यालय र नापी कार्यालयको भवन भत्किएपछि अहिले शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा सरेर सेवा दिइरहेको छ । भेरी नगरपालिका–४, बोहोरागाउँमा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा मालपोत कार्यालय र नापी कार्यालयले सेवा दिन बाध्य भएको छ ।
पुनर्निर्माणको काम समयमै नहुँदा तीन वटा कार्यालयले सोही भवनबाट सेवा प्रवाह गरेका छन् । मालपोत कार्यालयका प्रमुख डिल्ली केसीले भूकम्पले भाडामा लिएका भवन भत्किएपछि कार्यालय व्यवस्थापन गर्न समन्वय एकाइमा सारेर दुई वर्षदेखि सेवा दिइरहेको बताउनुभयो । पहिला तीन वटै कार्यालयको छुट्टाछुट्टै भाडाको भवन थियो, अहिले तीन वटै कार्यालय एउटै भवनबाट सञ्चालन भइरहेको छ ।
त्यसले सेवाग्राहीलाई सास्ती त छ नै, कर्मचारीलाई पनि सेवा दिन निकै गाह्रो भइरहेको प्रमुख केसीले बताउनुभयो । भेरी नगरपालिका–४, बोहोरागाउँमा मालपोत र नापी कार्यालयका भवन निर्माण भइरहेको छ तर ठेकेदारको ढिलासुस्तीका कारण अझै पूरा भएको छैन । “एउटै कोठाबाट चार वटा फाँटको काम गरिएको छ, अब भन्नुस् काम गर्न कति गाह्रो भइरहेको होला,” उहाँले भन्नुभयो, ‘‘भूकम्पअघि तीनतले घर भाडामा लिएर सेवा प्रवाह गरेको कार्यालय अहिले दुई वर्षदेखि तीन वटा कोठाबाट सेवा दिइरहेका छौँ, सेवा दिन निकै गाह्रो भइरहेको छ ।” कार्यालयमा सेवा लिन आएका सर्वसाधारणलाई बस्ने व्यवस्था नहुँदा बाहिरबाट पनि सेवा लिन बाध्य छन् । सेवाग्राहीहरू घाम बर्खामा पनि बाहिर बस्नै परिरहेको छ, त्यसले आफूहरूलाई पनि दुःख लागेको छ ।
काम लिएर आउँदा सेवाग्राही अलमल परेर हैरान हुन्छन् । तीन वटा कार्यालयको सेवा एउटै भवनबाट भएकाले सेवाग्राही र सेवा प्रदायकलाई दुःख हुने गरेको छ । जग्गाको कित्ताकाट, नक्सा निकाल्दा फराकिलो ठाउँ नभएपछि सेवाग्राहीलाई समस्या भइरहेको भेरी नगरपालिका–४ का नगेन्द्र शाहले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख यज्ञश्वर खत्रीका अनुसार एउटा कार्यालय प्रयोजनका लागि निर्माण गरेको भवन तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि खुम्चिएर बस्नु परेको छ ।