• २३ कात्तिक २०८२, आइतबार

मुक्त कमैया, कमलरी कार्यविधि कार्यान्वयन गर्नेलाई सम्मान

blog

सम्मानित व्यक्तित्वका साथमा मञ्चका पदाधिकारी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, कात्तिक २३ गते । मुक्त कमैया, कमलरी सम्बन्धी कार्यविधि कार्यान्वयन गरेको सुदूरपश्चिम प्रदेश सरकारसहित दुई स्थानीय तहलाई सम्मान गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आइतबार धनगढीमा एक कार्यक्रमकाबिच सम्मान गरेको हो । 

मञ्चले प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरियालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुक्त कमैया, कमलरी सम्बन्धी कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । 

यसैगरी, जानकी गाउँपालिकाले पनि कार्यविधि बनाएर कार्यान्वयन गरिसकेको छ भने भजनी नगरपालिकाले कार्यविधि बनाएर कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको जनाइएको छ । 

महिलामाथि हुने सबै  खाले विभेद अन्त्य गर्ने संयुक्त राष्ट्र संघीय महासन्धीको कमिटीमा नेपालको तर्फबाट ६० वटा सुझावको छायाँ प्रतिवेदन बुझाइएको छ । जसमा पहिलो पटक मुक्त कमलरीको सवाल पनि समेटिएको मञ्चका उपाध्यक्ष यशोकान्ति भट्टचनले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष सुनी लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।