• २३ कात्तिक २०८२, आइतबार

तनहुँमा बालबालिकालाई 'स्वर्णविन्दु प्राशन' गराइने

blog

प्रदेश आयुर्वेद चिकित्सकालय दमौलीको कार्यालय ।

अमरराज नहर्की

तनहुँ, कात्तिक २३ गते । तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।

नेपाल सरकारको कार्यक्रमअनुसार प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँले यही कात्तिक २५ गते बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने भएको हो । गण्डकी प्रदेशको बागलुङस्थित धौलागिरि प्रादेशिक आर्युर्वेद चिकित्सालय, तनहुँको प्रदेश आयुर्वेद चिकित्सकालय, कास्कीको गण्डकी आयुर्वेद अस्पताल र गण्डकी प्रदेश सरकारले नवलपुरको प्रदेश आयुर्वेद चिकित्सालयबाट पाइलट कार्यक्रमका रूपमा स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु गर्न लागेको प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँका प्रमुख आयुर्वेदक चिकित्सक डा. नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार दमौली स्थित प्रदेश आयुर्वेद चिकित्सकालयमा बिहान ७ बजेदेखि १० बजेसम्म बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने छ । जिल्लामा पहिलो पटक भएकाले कति बालबालिकालाई खुवाइन्छ भन्ने एकिन नभएकाले यो पटक आउने सङुख्याले आगामी दिनमा सहज हुने उहाँको भनाइ छ । नेपालका २५ वटा जिल्लामा यस वर्षबाट स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु भएको बताउँदै डा. श्रेष्ठ प्रत्येक कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने बताउनुभयो ।

डा. श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइने छ ।  स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा. श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिनुभयो । 

नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको कुशे नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराइने चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । केन्द्रका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्ने चिकित्सालयले जनाएको छ ।