• १२ असार २०८१, बुधबार

आयात प्रतिस्थापन गर्न उद्योग स्थापना

blog

रुपन्देहीमा निर्माणाधीन फस्र्ट च्वाइस फुड प्रालि । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा, असार २१ गते । मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापना हुने भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकूलित हुने बताइएको छ ।

रुपन्देहीका उद्योगी कृष्ण पौडेलले स्थापना गर्न लाग्नुभएको फस्र्ट च्वाइस फुड प्रालिले आलुबाट फ्रेन्च फ्राई उत्पादन गर्नेछ । “जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको छ महिनामा उत्पादन सुरु गर्नेछ । यो उद्योगको उत्पादन क्षमता प्रतिघण्टा दुई हजार केजी रहेको छ भने यसबाट १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन्,” उहाँले भन्नुभयो । उद्योग ६० हजार वर्गफिटमा निर्माण भइरहेको छ ।

हाल वार्षिक १२ अर्ब रुपियाँ बराबरको आलुका परिकार आयात भइरहेको अवस्थामा यो उद्योगले करिब छ अर्ब रुपियाँको आयात घटाउन योगदान गर्ने उद्योगी पौडेलले बताउनुभयो । यो उद्योगबाट माघदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताइएको छ । यो उद्योगले फ्रेन्च फ्राई मात्र होइन, आलुका फ्रोजन फुडमध्ये नुडल्स, चिप्स, स्टार्च, आलु परौठा, समोसालगायत तीन दर्जन उपभोग्य वस्तु उत्पादन गर्नेछ । 

आलुको परीक्षण उत्पादन

फ्रेन्च फ्राई उत्पादनका लागि ठूलो आकारको आलु चाहिने र त्यो नेपालमा उत्पादन नहुने भएकाले उहाँले हल्यान्डबाट आलुको बीउ ल्याएर यहाँ खेती गराउनुभएको छ । पौडेलले गत वर्ष करिब एक सय केजी बीउ ल्याएर परीक्षण खेती गर्नुभयो । यहाँ गरिएको आलुको खेतीबाट राम्रो उत्पादन भएको र हल्यान्डबाट आएका प्राविधिकले प्रशंसा गरेको उहाँले बताउनुभयो ।

यो आलु बजार मूल्यभन्दा बढीमा खरिद गर्ने ग्यारेन्टी उद्योगले दिएको छ । बीउ, मल र प्राविधिक सहयोग सबै उद्योगले गर्ने भएको छ । गत वर्ष रुपन्देहीलगायत काभ्रे, चितवन, बर्दिया, पाल्पा र राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रम खुमलटारमा यसको परीक्षण खेती भइसकेको छ । गत वर्ष पाँच सय किसानले उत्पादन गरे भने यो वर्ष चारदेखि पाँच हजार किसानले करिब आठ सय बिघामा खेती गर्दै छन् । 

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आलुको आपूर्तिका लागि प्रालिले पहिलो चरणमा पाँच हजार किसानमार्फत छ सय हेक्टरमा, दोस्रो चरणमा २० हजार बढी किसानमार्फत एक हजार आठ सय हेक्टरमा र तेस्रो चरणमा ५० हजार किसानलाई आलु खेतीमा आबद्ध गराउने योजना बनाएको छ ।

Author

लक्ष्मण पौडेल