• २२ कात्तिक २०८२, शनिबार

विद्यापतिको सौन्दर्य साधना

blog

मिथिलालाई कला, ज्ञान, साहित्य र संस्कृतिको भण्डार मानिन्छ । विदेह राजा जनकको शासनकालमा पनि मिथिला गुणी र विद्वतजनको भूमि मानिन्थ्यो । शास्त्रार्थका लागि राजा जनकको दरबार प्रसिद्ध नै थियो । याज्ञबल्क्य, गार्गी, मण्डन मिश्र, भारती देवी, ययाची मिश्र आदि विद्वान्हरूको भूमि मिथिलामा मैथिली भाषाका महाकवि विद्यापतिले आफ्नो विशिष्ट प्रभाव र उपस्थिति जनाएका छन् । विद्यापति र मिथिला एकअर्काका निम्ति पर्याय बन्न गएका छन् । कात्तिक धवल (शुक्ल) त्रयोदशीलाई विद्यापतिको अवसान दिवस मानी नेपाल, भारत र विश्वका जुनसुकै कुनामा बस्ने विद्यापति र मैथिली भाषाका प्रेमीहरू बडो हर्षाेल्लास एवं भावपूर्वक विद्यापति स्मृति पर्व मनाउने गर्दछन् ।

विद्यापति मैथिली भाषाका त कवि थिए नै उनले संस्कृत, बङ्गला र आसामी भाषामा पनि रचना गरेका छन् । स्वाभाविक रूपमा नेपाली भाषा साहित्यमा पनि मैथिली भाषाको प्रभाव हेर्न सकिन्छ । मैथिली, बङ्गला र नेपाली भाषा एक समान मधुर र कर्णप्रिय लाग्छन् । विद्यापति अलौकिक प्रतिभा र आशु कवित्व शक्तिका धनी थिए । विद्यापति पदावलीका अनेकौँ पद नेपालीसँग मिल्दो जुल्दो खालको पाइन्छ । विद्यापतिलाई कतिपयले सुरदास र तुलसी दास जस्ता वैष्णव कवि भनेका छन् तर उनका बुवा शैव थिए, फेरि उनी स्वयम् पनि महादेवको प्रशंसामा अनेकौ रचना गरेका छन् । उनी शक्तिका उपाशक पनि थिए । माता काली र दुर्गाको प्रार्थना र बन्दना गर्दै उनले अनेकौँ रचना गरेका छन् तसर्थ विद्यापतिको प्रशंसामा त अलङ्करणका शब्दहरू पनि कम पर्न जान्छ ।

मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विसं १४०७ मा प्राचीन मिथिलाको दरभङ्गा (हाल भारतको बिहार) स्थित विसफीमा भएको थियो । उनको भौतिक देहावसान कात्तिक शुक्ल त्रयोदशीका दिन भएको थियो । कवि कोकिल विद्यापतिलाई नेपाल र भारतमा राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । विद्यापति एकै साथ शृङ्गार र भक्तिका कवि पनि थिए । हास्य, शान्त, वीरसका कविताहरू पनि उनका पदमा प्रशस्तै पाइन्छ । शैव भएर पनि उनी एकै ईश्वरका रूप सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पन्चदेवोपासना पनि गर्दथे । प्रत्येक घर र मन्दिरमा बिहान–बिहान सर्वाधिक गाइने र सुनिने भजन ‘जय जय भैरवी असुर भवानी, पशुपति भामिनी माया, सहज सुमति वर दिअओ गोसावनि अनुगति गति तुअ पाया’ को रचना उनले गरेका छन् । विद्यापतिका संस्कृत प्राकृत (अवहट्ट) र मैथिली भाषामा लेखिएका हाल उपलब्ध विभिन्न १० वटा ग्रन्थ प्रकाशित रूपमा देखा परेका छन् ।

राजा कीर्तिसिंहको कीर्तिगाथा नैतिक–कथायुक्त ‘कथा सङ्ग्रह’ (मैथिली), राजा शिवसिंहको आज्ञाबाट लेखिएको ललित–कथाको रूपमा धार्मिक र राजनीतिक विषय भएको ‘पुरुष परीक्षा’ (संस्कृत), प्रेमसम्बन्धी कथा भएको ‘कीर्तिपताका’ (मैथिली), राजा पुरादित्यका आज्ञाबाट लेखिएको लेखन–प्रणाली उल्लेखित ‘लिखनावली’ संस्कृत, शिवसिंहपछिका राज भवसिंहकी रानी विश्वास देवीकै निम्ति लेखिएको ‘गङ्गा वाक्यावली’ (संस्कृत), यसै वंशका राजा नरसिंहदेवकी रानी धीरमतीदेवीलाई समर्पित गरिएको दान–विधान भएको ‘दान वाक्यावली’ (संस्कृत), राजा नरसिंहदेवको आज्ञावाट दुर्गा पूजाको प्रमाण र प्रयोग भएको ‘दुर्गा भक्ति–तरङ्गिणी’ (संस्कृत) र लोकप्रसिद्ध कोकिल–कलरब कोमल कान्त ‘पदावली’ (मैथिली) लगायतका ग्रन्थहरू विद्यापतिका प्रकाशित छन् ।

संस्कृतमा उनले पुरुष परीक्षा भूपरिक्रमा, लेखनावली, शैव सर्वश्वसार प्रमाणभूत पुराण–सङ्ग्रह, गङ्गा वाक्यावली, विभासार, दान वाक्यावली, दुर्गा भक्ति तरङ्गिणी, गयापतालक एवं वर्षकृत आदि पनि लेखेका छन् । हाम्रो साहित्यिक क्षेत्रमा सौन्दर्यको बारेमा कालिदास र जयदेवपछि विद्यापतिकै नाम आउँछ । सौन्दर्य साधनाको क्षेत्रमा विद्यापतिको तुलना हुन सक्दैन । सौन्दर्यवासना नै उनका निम्ति सबैभन्दा ठुलो धर्म तथा कर्म थियो । उनको सौन्दर्य तीर तीर्खा कहिल्यै शान्त हुने खालको थिएन । उनी त्यसको प्रत्येक क्षण परिवर्तित नूतनतालाई अनुभव गरी मधुऋतुमा कोकिल जस्तै उन्मत्त भावले जागृत हुन्थे । विद्यापतिले यस सौन्दर्यलाई अनिवर्चनीय ठान्दै गाउँछन् ।

अभियक लहरी वम अर

विन्दः विद्रुम पल्लव फुलल कुन्द

निरखि निरखि मै पुनुपुनु हेरुः

दमनलता पर उगल सुमेरु

सौर्य कहो मै सखी अनङ्ग

थादक मंडल यमुना तरङ्ग

कोमल कनक केआ भूतिपातः

मसिलै मदन लिखल निजवात

पढई न पारिय आखर पातिः

हेरईति पुलकित हो तनु कांति

भनई विद्यापति कहओ बुझाए

अरथ असम्भव के पति आए

कविको सौन्दर्यको सतत जागरुकता तथा अन्वेषण वृद्धिलाई पनि यसले व्यक्त गर्छ । यसले कविलाई सौन्दर्यको मायिक छविमा तन्मय भई जाने रूपाशक्तिबाट पनि बचाउँछ, जसले गर्दा उनको कला व्यापार पनि बाधित हुँदैन । हिन्दी भाषाका महाकवि सूर्यकान्त त्रिपाठी ‘निराला’ ले यस दिशातिर सङ्केत गर्दै लेख्छन “विद्यापति सौन्दर्यका स्रष्टा पनि अदभूत किसिमका थिए र सौन्दर्यमा तन्मय भई जाने उनको शक्ति पनि अद्वितीय थियो । कविको यो निकै ठुलो शक्ति हो कि उनी विषयसित आफ्नो सत्तालाई पृथक् राख्दै त्यसको विश्लेषण पनि गर्छन् र त्यसमा एकाकार पनि हुन्छन् ।” विद्यापति चारुत्वको रूपवर्णन प्रसङ्गमा उनले एक सजीव शक्तिको रूपमा अनुभव गरेका छन् तथा अपरूपको संज्ञा दिएका छन् । यस अपरूपको मनोहारी प्रभाव सामु त त्रिलोकीका सबैभन्दा ठुलो शक्ति पनि समर्पित हुन जान्छ । यस कुरातिर सङ्केत गर्दै उनी   लेख्छन् :

मनमथ कोटी मथन करु

जे मन से हेरि महिमधि गीर

यस अपरूपको प्रभाव विश्वव्यापी हो । विद्यापति सौन्दर्यको मांसल स्वरूप माथि मुग्ध हुने कवि होइनन् । उनले यस नैसर्गिक ‘चारुता’ को सङ्व्रmामक प्रभावलाई पनि खोजेका छन् । जायसीले पदमावतीको जुन रूप वर्णन गरेका छन् त्यसलाई सामान्यतया सहृदय पारसरूपको संज्ञा दिइएको छ । विद्यापतिका राधाको अपरूप पनि यही पारस रूप हो । जायसभन्दा करिब सय वर्षअघि नै विद्यापति ‘पारस रूप’ को कल्पना गरेका थिए, जसको महत्ता तथा मौलिकताका लागि साहित्य संसारले उनलाई साधुवाद दिनुको विल्कप छैन । उनका निम्न पदहरूमा जायसीकै शैलीमा रूप वर्णन भएको जस्तो लाग्न सक्छ ।

जहाँ जहाँ पगजुग धरई, तहि तहि सरोरुह भरई

जहाँ जहाँ झलकत अङ्ग, तहि तहि विजुरि तरङ्ग

कि हेरल अपरूप गोरि,

पईठल हियमा हि मोरि

जहाँ जहाँ नयन विकास, तहि

तहि कमल परगास

जहाँ लहु हास संचार तहि

तहि अभियविधार

यसरी विद्यापतिद्वारा राधाको पार्थिव रूप विधान आफ्नो लोकोत्तर कल्पनामा दिव्यताको प्रकाशक पनि हो । विद्यापतिको नखशिख वर्णन प्रायः पूर्ण तथा परिपाटीबद्ध रहेको छ । उनले आफ्ना पूर्ववर्ति संस्कृत महाकविहरूद्वारा प्रत्युक्त प्रायः सबै उपमानको ग्रहण गरेका छन् ।

सहजहिं आनन सुन्दर रे 

भौह सुरेखलि आँखि

पंकज मधु पिवि मधुकर रे 

उडय पसारति पाखि ।।

उपमानहरूको रुढ प्रयोगमा उनलाई कुनै आसक्ति थिएन । प्रचलित भएकै कारण उनले यसको प्रयोग गरेका थिए । उनी यसको अपर्याप्तताको अनुभव गर्दथे । अलङ्कारहरूको उनी राम्रो तरिकाले प्रयोग गर्दथे । वस्तुतः जब कवि रूप सौन्दर्यको पिपासाबाट विह्वल भएर त्यसको वर्णन गर्न थाल्छन् अनि अलङ्कार स्वतः नै तिनको शब्दकोषमा आइपुग्छ । विद्यापतिले कहीँ पनि अलङ्कारको अविचारित प्रयोग गरेका छैनन् । रूप, गुण तथा व्रिmयाको तीव्रता प्रदर्शित गर्न उनले विशिष्ट अलङ्कार अथवा अलङ्कारहरूको प्रयोग गरेका छन् । विद्यापतिको अत्यन्त प्रसिद्ध भावगीत ‘सुतलि छलौँ हम घरवा रे गरवा बिच हार’ आफ्नो अलङ्कृत चारुताका कारण नै असाधारण आकर्षक बन्न गएको छ । यसै प्रकार नोकझोक (छेडछाड) का पद ‘कर थरु करु मोहि पारे देव मे अपरुव हारे, कन्हैया तथा कुन्ज भवन सो निसकल रे रोकल गिरिधारी । एक ही नगर बस माधव हे, जनिकर वट मारी, छोडु कन्हैया मोर आँचर रे, फाटत नव सारी । अपजन होएत जगत भरि हे हम एकसरि नारी ।।’ आदि आफ्नो सहज आकृति भाव सौष्ठवका कारण नै त्यति मोहक हुन गएको हो ।

नख शिख वर्णनमा विद्यापतिको रूपलोलुप दृष्टि उनलाई आन्तरिक सौन्दर्यको उदघाटनमा बाधक पनि भएको हो । कायिक सौन्दर्यको मांसलता कतै कतै अनावश्यक रूपमा प्रकट गरिएको हो तर उनले सर्वत्र यस्ता परिस्थितिलाई पनि ध्यानमा राखेका छन् कि वर्णनले कुरुचि उत्पन्न गर्न नसकोस् । मध्ययुगीन घोर शृङ्गारी प्रवृत्तिको परम्परामा हुर्केका विद्यापतिले ‘विपरीत रति’ सम्मका कतिपय पदमा पनि वर्णन गरेका छन् तर यस्ता स्थलहरूमा पनि उनले यथेष्ट शालीनता एवं अभिजात्यको परिचय दिएका छन् ।

सखि हे कि कहव किछु नहि फुर

सपन कि परतेरव कहयन

पारिय किय नियरे किय दुर,

तडित लता तल जलद सभार

ल आचर सुरसरी धारा

तरल तिमरि शसि सुर

गरासल चौदिस पछतारा

अंवर खसल धराधर उलटल

धरनी डगपग डोले

खरतट बेग समीरन झांपल

ई नहि युग अवसान

वस्तुतः कविको सौन्दर्यापासना प्रेमको अभावमा अधुरो नै रहन्छ । विद्यापति पनि कालिदास जस्तै प्रियको अभावमा यौवन तथा निरर्थकतालाई प्रतिपादित गर्छन् ।

सरसिज विनु सर

सर विनु सरसिज

को सरसिज विनु सरे ?

यौवनविन तन

तन विन यौवन

कि यौवन पिय दूरे ? ।।

प्रेम संयोग तथा वियोग दुवै पक्षको मार्मिक अभिव्यन्जनामा विद्यापतिले गजबको क्षमता हासिल गरेका छन् । विद्यापति सौन्दर्यका सजग कवि थिए । उनी यसलाई अपरूप अथवा अनिवर्चनीय ठान्दथे । विद्यापति मिथिलाका महान कवि थिए । उनी आधुनिक नेपाल र भारतका साझा कवि थिए । उनले संस्कृत, नेपाली, हिन्दी, बङ्गला र आसामी भाषा साहित्यलाई पनि धेरै थोक दिएर गए । स्मृति दिवसमा शत शत नमन ।