मनाङको तिलिचो तालसम्मको पदयात्राको एक वर्षपछि २०८२ सालको तिहार बिदामा फेरि प्रकृतिको सामीप्यमा रमाउने इच्छा जाग्यो । भ्रमणका लागि उपल्लो मुस्ताङसम्म जाने तय भयो । यात्राको प्रबन्ध काठमाडौँको एक ट्राभल/टुर कम्पनीमार्फत मिलाइयो । त्यही कम्पनीले व्यवस्था गरिदिएको स्कोर्पियो जिपमा यात्रा सुरु गरियो । यसअघि पनि कागबेनी तथा मुक्तिनाथसम्मको पारिवारिक यात्रा गरिसकेको थिएँ । यस पटक भने गण्डकी प्रदेशमा अवस्थित समुद्री सतहबाट ४,६६० मिटरको उचाइमा रहेको नेपाल–चीन सिमाना छुट्याउने उपल्लो मुस्ताङमा पर्ने कोरला नाकासम्म पुग्न पाइने कुराले म बढी नै उत्साहित र रोमाञ्चित थिएँ ।
हाम्रो टोलीले २०८२ कात्तिक २ गते आइतबार यात्रा सुरु ग¥यो । नागढुङ्गाको बाटो बाइपास गरी सीतापाइलाबाट सोझै पृथ्वीराजमार्गमा पर्ने धादिङको धार्के निकाली सोही मार्गको धुनिबेँसीमा पुगियो । जेनजी पुस्ताका चालक भाइ अलि तीव्र गतिमै गाडी चलाउने रहेछन् । उनले चिया पिएपछि फेरि गाडी हुइँक्याए र कुरिनटारमा खाना खान रोके । कुरिनटारबाट खाना खाएर, मुग्लिङ, मस्र्याङ्दी, तनहुँको डुम्रे, दमौली हुँदै पोखरा पुगियो तर गाडी भने निरन्तर अघि बढ्यो । गाडी चलिरहँदा सबैले आआफ्ना घरबाट बोकेका ड्राइ फ्रुट्स, भुजिया, खजुरी, चकलेट एकआपसमा बाँड्दै खाँदै गयौँ । यी हामीबिच आत्मीयताको सम्बन्ध कस्ने जुइना पनि बने । यात्रा निकै लामो भएकाले खुट्टा कुँजिएलान् जस्ता भए । त्यसैले पोखरा–बागलुङ मार्गको नौडाँडामा रहेको एउटा होटेलमा हातखुट्टा तन्काउन हामी उत्रियौँ । सामान्य चिया नास्ता पनि गरियो ।
नौडाँडाबाट हामी पर्वतको कुस्मा नाघेर सोझै बागलुङ कालिका मन्दिर र पर्वत–बागलुङ जोड्ने कालीगण्डकीमाथिको नेपालकै सबैभन्दा लामो (५६७ मि) गण्डकी स्वर्णिम झुला नामको, झोलुङ्गे पुलको दर्शन र अवलोकन ग¥यौँ । हामी हतारमै थियौँ त्यसैले बागलुङ बजार हुँदै म्याग्दी जिल्ला छि¥यौँ । सदरमुकाम बेनीबाट पनि करिब सात/आठ किमी अगाडि म्याग्दी खोलातर्फ सिङ्गा तातोपानी कुण्ड छेउको श्रेष्ठ हट स्प्रिङ होटेलमा लगेर चालकले हामीलाई बसाए । समय भने अपराह्न ४:३० मात्र भएको । बचेको समय सदुपयोग गर्नु उचित लाग्यो । कपडा बदलेर हामी नजिकै रहेको तातोपानी कुण्डतर्फ गयौँ तर मुख्य कुण्ड बन्द भइसकेको रहेछ । महिला साथीहरूलाई ननुहाइ नहुने, उहाँहरू अर्को खुला कुण्डमा नुहाउन थाल्नुभयो । हामी भने घुमघाम गरेर फर्कियौँ । साँझ साथै खाना खाएर पहिलो दिनको यात्रा बिट मा¥यौँ ।
बास बसेको होटेलबाट दोस्रो दिनको बिहान हामी मुक्तिनाथतर्फ लाग्यौँ । समुद्री सतहबाट मात्र नौ सय मिटर उचाइमा अवस्थित बेनीबाट हिँडेको करिब डेढ घण्टामा प्रसिद्ध रुप्से झरना पुगेर गाडी रोकियो । म्याग्दीको दानामा पर्ने तीन सय मिटर उचाइमा रहेको त्यो सुन्दर झरनासँग हामी खुब रमायौँ । हामी जस्तै फोटो खिच्ने र टिकटक बनाउनेको निकै भिड थियो । करिब आधा घण्टा त्यहाँ बिताएर मुस्ताङतर्फ लागेपछि बाटैमा पर्ने लेते भन्ने स्थानबाट अन्नपूर्ण, निलगिरि र धवलागिरि हिमालका अति मनमोहक दृश्यले हामीलाई तान्यो । सबैका मोबाइल क्यामेरा तेर्सिए र फोटो भिडियो खिच्न थाले । त्यसपछि हाम्रो गाडी अगाडि बढ्यो र दिउँसोको खानाका लागि उपल्लो मुस्ताङको २६५० मिटर उचाइमा रहेको मार्फामा रोकियो । देशभरका रेस्टुरेन्टमा मुस्ताङे आलु भनेर बेचिने भए पनि त्यहीँ ठाउँमै पुगेपछि किन नखाने ? भनेर उसिनेको आलु र स्याउको वाइन हल्का लिएर सबैले खाना खायौँ । खाएर हाम्रो गाडी जोमसोम हुँदै मूलबाटोबाट करिब चार किमी पश्चिम रहेको धुम्बा तालमा रोकियो । २८३० मिटर उचाइमा अवस्थित यो ताल मुटुको आकारको रहेछ । दिउँसोको हावाको वेगले तालको पानीसँग किनाराको बालुवासमेत उडाएर अनुहारसम्म छ्याप्दा बेग्लै आनन्द !
पुनः गाडीमा सवार हुँदै प्रसिद्ध तीर्थस्थल (पितृ श्राद्ध गर्ने ठाउँ) कागबेनी हुँदै मुक्तिनाथतर्फ लाग्यौँ । मुक्तिनाथ जान रानीपौवामा गाडी रोकेर करिब ३०/४० मिनेट उकालो जानु पर्छ । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्र यो देवभूमि ३७६२ मिटर उचाइमा छ । हिन्दुहरू त्यहाँ रहेका १०८ धाराबाट आउने चिसोपानीमा स्नान गर्छन् भने बौद्धमार्गीका लागि नजिकै गौतम बुद्धको विशाल प्रतिमा स्थापना गरिएको छ । गाडी रोकिने ठाउँ मास्तिर २१९ वर्ष पुरानो (विसं १८६३, रणबहादुर शाह राजा भएका बेला बनेको रानीपौवा नामको जीर्ण धर्मशाला छ । त्यहाँ पुरानो समयमा तीर्थालु बास बस्थे, अहिले पनि आश्रय लिने पर्यटक/दर्शनार्थीलाई त्यो सेवा निरन्तर रहेको बुझियो ।
मुक्तिनाथ क्षेत्रमा करिब दुई/तीन घण्टा बिताएर हामी हाम्रो बाटो लाग्यौँ । सुरुमा ओरालो बाटो अनि १२ घुम्ती हुँदै दोस्रो दिनको रात्रि विश्रामका लागि २९८० मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङको बेस–स्टेसन भन्न मिल्ने छुसाङ गाउँको पूर्व निर्धारित होटेलमा पुगियो । यहाँबाट भने उपल्लो मुस्ताङ जाँदा कालीगण्डकी नदी छोडिन्छ र सो नदी भित्रभित्रै हराएको जस्तो पनि देखिन्छ । यो ठाउँ कालीगण्डकी र नरसिंह नदीको सङ्गमस्थलमा पर्छ र वरिपरिका माटो र नरम चट्टानका डाँडा राता, सुन्तले र खैरो रङले पोते जस्तो एवं मानव निर्मित गुफा जस्ता अनेकल प्वालयुक्त । ती डाँडापाखा पनि अचम्मका देखिन्थे । मौसमी तरकारी र स्याउ यहीँ उत्पादन हुने गरेको होटेल व्यवसायीको भनाइ थियो ।
तेस्रो दिन हाम्रो यात्राको अन्तिम गन्तव्य, नेपाल चीन सिमानामा पर्ने कोरला नाका पुगेर फर्केपछि मुस्ताङी राजाको दरबार क्षेत्र लोमान्थाङमा बास बस्ने तालिका थियो । छुसाङमा नास्तामा चियाको साथमा उसिनेको अण्डा, चनाको झोल र दुई टुव्रmा निस्तो पाउरोटी दिइएको थियो, न बटर, न जाम । जे पाइन्छ त्यही खानुको विकल्प थिएन । नास्ता खाएर बिहान ७ बजेतिर निस्केपछि १०:१५ बजे लोमान्थाङ पुगियो । त्यस स्थानमा फर्किंदा बस्ने योजना भएकाले गाडी नरोकी अगाडि बढ्यौँ । हामी उचाइतर्फ गइरहेको र बाटो कच्ची भएकाले यहाँ भने गाडीको गति सामान्य थियो । यो ठाउँ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले मुस्ताङलाई हिमालपारिको जिल्ला पनि भनिन्छ, भने यहाँ एकदमै कम पानी पर्छ । यहाँका डाँडाकाँडा प्रायः सुक्खा र बलौटे माटोले बनेका, हिउँ पग्लिँदा काटिएर ससाना गुफासहितका अजीवका संरचना देखिने ।
पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्ने मुस्ताङको करिब करिबबिच भएर उत्तर (लोमान्थाङ) तिर भोटे, गुरुङ, विष्ट तथा ठकुरी जातिको बाहुल्य छ भने दक्षिर्णतर्फ थकाली समुदायको । लोमान्थाङबाट केहीमाथि ढुक भन्ने स्थानमा दिउँसोको । खानाका लागि गाडी रोकियो । जति माथि गयो खानाको मात्रा उति कम तर पैसो बढी पर्ने । खाना खाएर निस्केपछि दिउँसो झन्डै १२ बजे कोरला सिमानाका चिनियाँ भवन देखिन थाले । अर्थात् हामी नेपाल चीन सीमा नाकाको कोरला पुगेछौँ । त्यो ठाउँ समथर थियो, एक किसिमको मरुभूमि जस्तो । वरिपरिका हिमाल हामी उभिएको जमिनभन्दा तल जस्तो र दक्षिणतिर देखिने । हिमालपारिको जिल्लामा न प¥यो । तलतिर जस्तो त्यति धेरै भिड त थिएन यस ठाँउमा । धेरै जसो पर्यटक हामीभन्दा दुई/तीन दिनपछि गएको पाइयो तर त्यतिखेर अत्यधिक भिड, घुइँचोका साथमा मौसम बदली भई हिमपातसमेत भयो । हामी हिउँमा रमाउन भने पाएनौँ । सिमानामा नेपालतर्फ टेन्ट टाँगेर स्थानीयबासीले व्यापार गर्दा रहेछन् । सो स्थानमा १२ बजेपछि भुइँको बालुवासमेत उडाउने गरी तीव्र गतिमा हावा चल्ने रहेछ । तीव्र हावाकै बिचमा हामीले चन्द्रसूर्य अङ्कित राष्ट्रिय झन्डा फहराउँदै दृश्यलाई फोटो र भिडियोमा कैद गर्दै करिब आधा घण्टा बितायौँ । फर्कंदा करिब एक किमी वर डाँडाबाट अझ सुन्दर दृश्य देखिएपछि फेरि उत्रेर फोटो खिच्यौँ । त्यस्ता स्थान त कति हो कति !
हाम्रो गाडी तलतिर फर्किइरहेको थियो । तल बाटोबाट केही भित्र छिरेपछि माटोको पहाड खोपेर बनाइएको सिजा जोङ गुफा अर्कै आकर्षक सम्पदा थियो । नेपालीलाई जनही एक सय र विदेशीलाई एक हजार रुपियाँको टिकट काटेपछि भित्र जान पाइने रहेछ । भुइँसहित छ तलाको गुफामा तलैपिच्छे भ¥याङ थिए । गुफामा ५० वटा ससाना कोठा रहेछन् । यो गुफा करिब दुई हजार वर्ष पहिले तत्कालीन तिब्बती आक्रमणकारीबाट बच्न सामूहिक गुप्तबासका लागि बनाइएको स्थानीयले बताए ।
त्यस बेला अतिवादीहरूबाट बच्न सुरक्षा हेतु निर्माण गरिएको सो गुफा आजकल पर्यटन र आयआर्जनको राम्रो स्रोत बनेको रहेछ । कोरलाको चिसो हावा र धुलोले हो कि के हो ? मलाई फर्केपछि हल्का टाउको दुख्न थाल्यो । समय पनि निकै रहेकाले चालक भाइको सल्लाह अनुसार सबै जना लोमान्थाङमा बास नबसी तल छुसाङमै बस्ने सहमति भयो । सम्बन्धित होटलमा खबर गरियो । लोमान्थाङमा उत्रेर दरबार क्षेत्र पैदल घुमियो । करिब छ सय वर्ष पहिले माटो, ढुङ्गा र दाउराबाट निर्मित ऐतिहासिक र शक्तिशाली दरबारमा हाल एउटा भोटे कुकुरले पहरा दिइरहेको पाइयो । १५ औँ शताब्दीमा बनेको त्यस दरबारलाई स्थानीयले टास्सी ध्याफेल दरबार भन्छन्, जुन नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खालले घेरिएको छ । यहाँका अन्तिम राजा जिग्मी दोर्जे पलवर विष्टलाई स्थानीयले अझै श्रद्धा गर्छन् । मुलुकमा गणतन्त्र स्थापना भएपछि ती राजाले आफ्नो राजकीय पद त्यागेको र पछि सन् २०१६ मा काठमाडौँमा निधन भएको पनि स्थानीयले बताए । दिउँसोको साढे २ बजेतिरै हामीले सो दरबार क्षेत्र घुमिसकेकाले साँझ छुसाङमा बास बस्ने गरी गाडी अघि बढ्यो र करिब तीन घण्टामा पुगियो । यहाँ बाथरुममा सोलारको तातोपानीको सुविधा भएकाले र दिउँसै कोठा बुक गरेकाले नुवाइधुवाइ गरी बस्न सहजै भयो ।
तालिका अनुसार चौथो दिनको बसाइ मार्फामा हुने भनिए पनि बिहान खाजा खाएर हिँड्दा पनि १०:३० बजे नै मार्फा आइपुगियो । बिचमा डोल्पा र लोमान्थाङ जाने दोबाटोमा उत्रेर फोटा खिच्यौँ । भोलिपल्ट भाइतिहार परेको थियो । मलाई हल्का बिसन्चो पनि भएको र सोही दिन पोखरा पुग्न पर्याप्त समय भएकाले सहयात्रीसँग सोही साँझ पोखरा पुग्न प्रस्ताव गरेँ । सोही अनुसार मार्फामा स्थानीय गल्ली घुमेर खाना खाइयो । मार्फामा चेरी गल्ली, कबड्डी गल्लीलगायतका विभिन्न ससाना गल्ली र पसल रहेछन् । पसलमा स्थानीय स्याउ र त्यसको सुकुटी, वाइन, ब्रान्डी, जिम्मुको छोर, सिमीको दाल, टिमुरको छोप, फापर जस्ता त्यहाँका प्रख्यात, खाद्य तथा पेय पदार्थ पाइने रहेछन् । पर्यटकले किनेर ल्याउँदा रहेछन् । हामीले पनि केही चिज किन्यौँ ।
मुस्ताङ जति सुन्दर छ, त्यति दुरुह अनि अलि रहस्यमय पनि । त्यसैले होला यस स्थानलाई सहज रूपमा खुला गरिँदैन थियो । अहिले आएर भने मुस्ताङ बाह्य र आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।