सन्तोष दहित
दाङ, कात्तिक २१ गते । दंगीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरी व्यवसायिक तरकारी खेतीमा लाग्नुभएको छ ।
लामो समयसम्म गैरसरकारी संस्थामा कार्यरत रहनुभएका चौधरीले २०७४ सालको स्थानीय तह निर्वाचनमा एक गैरसरकारी संस्थाको निर्देशकको पद छोडेर नेकपा (एमाले)को तर्फबाट दंगीशरण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । उहाँ सो निर्वाचनमा उम्मेदवार भई पालिकाको अध्यक्षका रूपमा निर्वाचित हुनुभएको थियो ।
पालिकाको अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पालिकाभित्र सडक पूर्वाधार, भौतिक संरचना निर्माण, शैक्षिक सुधार, कृषि आधुनिकिकरण, स्वास्थ्य, खानेपानी र पर्यटनको विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै जनताको मन जित्नुभएको थियो ।
सामान्य परिवारमा जन्मिनु भएका दंगीशरण गाउँपालिका ३ हेकुली निवासी चौधरीले पालिकाको अध्यक्षको कार्यकाल सकिएपछि राजनीतिसँगै व्यवसायिक तरकारी खेतीलाई जीवनयापनको माध्यम बनाउनु भएको छ । “अध्यक्षको कार्यकाल सकिएपछि राजनीतिलाई निरन्तरता दिने क्रममा फुर्सदको सदुपयोग गर्न र परिवारको जीविकोपार्जनका लागि तरकारी खेती सुरु गरेको हुँ,” चौधरीले भन्नभयो, “पालिकाको अध्यक्ष भइसकेको मान्छे फेरि जागिर खोज्दै हिँड्नु उचित लागेन । त्यसैले जनतासँगै सुख–दुःख बाँड्न र जिवनयापनलाई सहज बनाउन कृषि क्षेत्रमा लागेको हुँ ।”
हाल उहाँ माया खोलाको किनारमा पाँच कठ्ठा जमिनमा विभिन्न मौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँको बारीमा घिउसेमी, काउली, बन्दा, लौका, भन्टा, टमाटर, आलु, खुर्सानी लगायतका तरकारी फलेका छन् । साथै, उहाँले तरकारीका बेर्ना पनि बिक्री गर्दै स्थानीयलाई रोजगारीको अवसर समेत सिर्जना गर्नुभएको छ ।