सिराज खान
नेपालगन्ज, कात्तिक २१ गते । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपालगन्जको एउटै टोलका दुई जना विद्यार्थी सहिद भएका छन् । नेपालगन्ज–१, धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय शुलभ श्रेष्ठ काठमाडौँमा भएको जेनजी आन्दोलनमा गोली लागेर सहिद हुनुभएको हो ।
ज्यान गुमाएको करिब दुई महिना पुग्दै छ तर भेट्न र सान्त्वना दिन आफन्तबाहेक हालसम्म पनि सरकारका कोही मन्त्री वा आधिकारिक प्रतिनिधि नआएको सहिद परिवारको गुनासो छ । आयुष थापाका पिता सुशील थापा र आमा पुनम थापाले दसैँतिहारमा काठमाडौँमा प्रधानमन्त्री सुशीला कार्की स्वयंम सहिद र घाइतेका घर घरमा पुगे पनि नेपालगन्जमा प्रमुख जिल्ला अधिकारीसमेत सान्त्वना दिन नआएकोमा दुःख लागेको बताउनुभयो ।
उहाँहरूले नेपाली सेनाका केही वरिष्ठ अधिकारीसहित स्थानीय तह र प्रदेशका जनप्रतिनिधि भने भेट्न आएको बताउनुभयो । सुशील थापाले भन्नुभयो, “यतिसम्म कि उच्चस्तरीय जाँचबुझ आयोगको टोली नेपालगन्ज आए पनि सहिद परिवारलाई नभेटेर बेवास्ता गरेर फर्कियो । सरकारले घोषणा गरेको राहत रकम तत्कालै पठाए पनि अन्य काममा ढिलाइ भइरहेको छ ।”
आन्दोलन भएको दुई महिना पुग्न लागे पनि जेनजीका माग पूरा गर्नतर्फ ढिलाइ भइरहेको थापाको गुनासो छ । आयुषकी आमा पुनमले भन्नुभयो, “हाम्रो काख त रित्तियो तर अब कुनै पनि विद्यार्थी र युवाले अनाहकमा ज्यान गुमाउन नपरोस्, देशमा सुशासन कायम होस्, भ्रष्टाचार सधैँका लागि अन्त्य होस् ।” उहाँले अब सरकारले सहिद परिवारबाट कम्तीमा एक जनालाई रोजगारीको व्यवस्था पनि गर्नुपर्ने माग गर्नुभयो ।
सोही टोलका अर्का सहिद शुलभ श्रेष्ठको परिवारको अवस्था पनि पीडादायी छ । उहाँहरू कसैसँग भेट गर्न र बोल्न चाहनुहुन्न । शुलभका पिता नरेन्द्र श्रेष्ठ बिरामी हुनुहुन्छ भने छोराको वियोगको पीडाले आमाको मानसिक अवस्था बिग्रिएको छ । शुलभका ठुलोबुवा राजन श्रेष्ठले सो घटनापछि शुलभका आमाबुवाको अवस्था अति नै पीडादायी बनेको जनाउँदै परिवार नै अत्यन्तै दुःखमा रहेको बताउनुभयो ।
उहाँले पनि जेनजीको बलिदानबाट बनेको सरकारले माग पूरा गर्न ढिलाइ गर्नुले थप पीडा थपिएको बताउनुभयो । सहिद थापा र श्रेष्ठका छिमेकी नेपालगन्ज उपमहानगरका निवर्तमान उपप्रमुख उमा थापामगरले सरकारले नेपालगन्जका सहिद परिवारको बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले सहिद परिवारलाई राहतमात्र खातामा पठाएर हुँदैन । विक्षिप्त भएका परिवारको मानसिक अवस्थालाई हेरेर सामाजिक सुरक्षाको पनि व्यवस्था गरिनुपर्ने बताउनुभयो । दुई सहिदको घर ५० मिटरको दुरीमा भए पनि आन्दोलनका क्रममा छुट्टाछुट्टै समय र ठाउँमा गोली लागेको थियो ।
एउटै टोलका दुई जना विद्यार्थी सहिद भएपछि अहिलेसम्म पनि धम्बोझी टोल शोकमग्न छ । शुलभ श्रेष्ठ पढाइमा साह्रै अब्बल भएकाले परिवारले उहाँलाई इन्जिनियर बनाउन काठमाडौँ पढाउनुभएको थियो । सहिद आयुष थापा विद्यार्थी भिसामा भदौ २७ गते फ्रान्स जाने भनेर काठमाडौँ जानुभएको थियो तर आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएपछि उहाँ बाकसमा घर फर्किनुभयो ।
नेपालगन्जको एउटा निजी कम्पनीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने थापाकी आमा पुनमले फ्रान्स जाने भनेर काठमाडौँ गएको छोरा बाकसमा फर्किंदा अझै पनि घरपरिवार समाल्न नसकिएको पीडा सुनाउनुभयो । आयुष सुशील र पुनमका एक मात्र छोरा थिए ।