• १६ कात्तिक २०८२, आइतबार

कञ्चनपुरमा एक स्थानबाट मात्रै धान खरिद

blog

महेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्दै । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, कात्तिक १६ गते । कञ्चनपुरमा यस वर्ष पनि धान खरिद सुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले आइतबारदेखि धान खरिद सुरु गरिएको जनाएको हो । 

तर यस वर्ष जिल्लाको एक स्थानबाट मात्रै धान खरिद भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जनाएको छ । गत वर्ष दुई स्थानबाट धान खरिए पनि यस वर्ष कर्मचारी अभाव भन्दै एक स्थानबाट मात्रै धान खरिद गरिने कार्यालयका सूचना अधिकारी मनोज चन्दले बताउनुभयो । एक स्थानबाट मात्रै धान खरिद गरिँदा जिल्लास्थित अत्यधिक धान उत्पादन हुने क्षेत्रका कृषकहरू भने सस्तोमा व्यापारीहरूलाई धान बिक्री गर्न बाध्य छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख महिकरण महराले यस वर्ष प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८० रुपियाँमा एउटा डिपोबाट धान खरिद भइरहेको बताउनुभयो । एउटा डिपो मात्रै सञ्चालनमा ल्याइँदा जिल्लास्थित केही पालिकाका कृषकहरू मात्रै लांभावित हुने भएका छन् । यहाँको भीमदत्त र वेदकोट नगरपालिकाका कृषकहरूलाई धान बेच्नका लागि सहजता हुने अपेक्षा गरिएको छ । तर गत वर्ष खाद्यले शुक्लाफाँटा नगरपालिका स्थित झलारी बजारमा पनि डिपो सञ्चालनमा ल्याएको थियो । झलारीमा डिपो सञ्चालनमा ल्याइए सरकारले तोकेको मूल्यमा नै धान बिक्री हुने अपेक्षा गरेका शुक्लाफाँटाका कृषकहरू डिपो नै सञ्चालनमा नल्याइँदा निराश भएका छन् ।

यस वर्ष झलारीमा पनि डिपो सञ्चालनमा नल्याइँदा निजी व्यवसायीहरूलाई सस्तो दाममै धान बेच्नुपर्ने बाध्यता रहेको कृषकहरूले गुनासो गर्न थालेका छन् । शुक्लाफाँटाका कृषक हरिस दमाइले घरमा भित्र्याएको धान सस्तो दाममै बिक्री गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले निजी व्यवसायीहरूले सरकारले तोकेको भन्दा प्रति क्विन्टल आठ सय रुपियाँ कममा धान खरिद गरिरहेको गुनासो गर्नुभयो । झलारीमा डिपो सञ्चालनमा नल्याइदा कृष्णपुर नगरपालिकाका कृषकहरुले पनि निजी व्यवसायीहरु नै सस्तो मूल्यमा नै धान विक्री गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा मुख्यबाली धान हाे । यहाँ झन्डै ४ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । यस वर्ष खाद्य कार्यालयले महेन्द्रनगरबाट मात्रै धान खरिद गर्ने भएपछि जिल्लाको दक्षिणी क्षेत्रका कृषकहरू समेत सस्तो मूल्यमै निजी व्यवसायीहरूलाई धान बिक्री गर्न बाध्य छन् । 

विगतका वर्षदेखि नै बेलौरीमा पनि डिपो सञ्चालनको माग गर्दे आएका कृषकहरूले खाद्यले डिपो सञ्चालन नगर्दा धान खेतीबाट पलायन हुनुपर्ने बाध्यता रहेको दुःखेसो पाेखेका छन् । बेलौरी नगपालिका–८ का कृषक ओमप्रकाश रानाले धान उत्पादनमा लाग्ने खर्चसमेत नउठ्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । “एकातिर खाद्यको डिपो सञ्चालनमा छैन, उहाँले भन्नुभयो, अर्काैतिर निजी व्यवसायीले नौ सय कम मूल्य दिएर धान खरिद गरिरहेका छन् ।”

जिल्लाको पुनर्वास नगरपालिका, लालझाँडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा गरी झन्डै १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर सरकारले तोकेको मूल्यमा धान बिक्री नहुँदा कृषकहरूले धानखेतीमा घाटा सहनुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।

बेलौरी, पुनर्वासबाट धान बिक्रीका लागी महेन्द्रनगर पुर्‍याउँदासम्म कृषकहरूले अत्यधिक भाडा तिर्नुपर्ने भन्दै निजी व्यवसायीहरुलाइ नै सस्तो मूल्यमै धान बिक्री गर्नुपर्ने बाध्यता रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्लाका विभिन्न स्थानमा धान खरिद गर्दे आएका निजी खाद्य भण्डार, मिल सञ्चालकहरुले प्रति क्विन्टल २ हजार ५ सयदेखि २ हजार ७ सयसम्म धान खरिद गरिरहेका छन् । 

एकातिर खाद्यले जिल्लाका अत्यधिक धानखेती हुने क्षेत्रमा डिपो सञ्चालनमा नल्याउँदा लक्ष्य अनुरूप धान खरिद समेत गर्न सकेको छैन । खाद्यले गत वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर २ वटा डिपो सञ्चालनमा ल्याएर पनि खाद्यले गत वर्ष झन्डै तीन हजार क्विन्टल मात्रै धान खरिद गर्न सफल जनाएको छ । गत वर्ष लक्ष्य अनुसार धान खरिद गर्न नसक्दा यस वर्ष पाँच हजार क्विन्टल मात्रै खरिद गर्ने लक्ष्य राखिएको खाद्य कार्यालयका प्रमुख महराले बताउनुभयो । यस वर्ष कर्मचारी अभाव भन्दै एउटा डिपोबाट मात्रै धान खरिद गरिने महराले बताउनुभयो।