• १४ कात्तिक २०८२, शुक्रबार

ऐतिहासिक पाटीपौवा बेवारिसे बन्दै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक १४ गते । सिन्धुली जिल्लाको सुनकोशी गडतीर क्षेत्रमा रहेका ऐतिहासिक पाटीपौवा बेवारिसे अवस्थामा पुगेका छन् । 

पूर्वपश्चिम राजमार्ग खुल्नुअघि पूर्वीपहाडी तथा तराईका जिल्लाबाट नेपाल (काठमाडौँ) प्रवेश गर्ने पैदलमार्गका रूपमा अत्यधिक व्यस्त रहने त्यस क्षेत्रका पाटीपौवा पछिल्लो समय सुनसान अवस्थामा रहने गरेका छन् । बटुवाका निम्ति बास बस्न सुविधा होस् र राणाकालीन बडाहाकिम दौडाहा आउँदा बस्ने व्यवस्थाका लागि त्यस्ता पाटी विसं. १९५० तिर निर्माण भएका स्थानीयको भनाइ छ ।

सुनकोशी गाउँपालिका अन्तर्गत सुनकोशी गडतीर क्षेत्रको शीतलपाटी, चैनपुर, मूलकोट, गुठबजार नेपालथोक र गोलन्जोर गाउँपालिका अन्तर्गत खुर्कोट र सुलिभन्ज्याङ गरी झन्डै एक दर्जन ऐतिहासिक पाटीपौवा र सत्तल रहेका छन् । कतिपय पाटीपौवा संरक्षणको अभावमा जीर्ण भई भत्किएर लोप भइसकेका छन् । कतिपयको मर्मत गरी संरक्षण भए पनि प्रयोगमा आउन नसकेको सुनकोशी गाउँपालिका–६, चैनपुर निवासी कैलाश पौडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यस वडामा रहेका तीन वटा ऐतिहासिक पाटीमध्ये दुई वर्षअघि मालेपाटी र शीतलपाटी पुरातìव विभागले मर्मत गरी संरक्षण गरेको छ । बाँकी चैनपुरमा रहेको पाटी जीर्ण भई भत्किन थालेको छ । त्यसको मर्मत गरी संरक्षण गर्न कतैबाट चासो लिएको पाइँदैन ।” ऐतिहासिक प्राचीन त्यस्ता सम्पदा संरक्षण गर्न स्थानीय सरकारले खासै चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।

स्थानीयका अनुसार पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्ग निर्माण हुनुअघि मानिसको निकै चहलपहल हुने ती पाटीपौवा राजमार्ग निर्माणसँगै ओझेलमा परेका हुन् । प्रचारप्रसारको अभावमा बिपी राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकबाट समेत बेखबर छन् । समयको विकास क्रमसँगै अहिले ती सम्पदाको अस्तित्व सङ्कटमा परेको छ ।

जिल्लाको सुनकोशी गडतीर क्षेत्रमा बाक्लै पाटी रहेका छन् । ती पाटीमा कँुदिएका कलात्मक टुँडाल र झ्यालढोकाले तत्कालीन वास्तुकलाको राम्रो छनक दिन्छन् । सिन्धुली जिल्ला पनि वास्तुकलाको क्षेत्रमा अगाडि थियो भन्ने दह्रो प्रमाण यी पाटी हुन् । त्यस्ता कुराको खोजबिन र अनुसन्धानका निम्ति ऐतिहासिक विषयवस्तुको संरक्षण गर्नु आजको आवश्यकता देखिएको गोलन्जोर गाउँपालिका–७, खुर्कोट निवासी शरद आचार्य बताउनुहुन्छ ।

“अहिले सुनकोशी गडतीर क्षेत्र हुँदै जापान सरकारको सहयोगमा बिपी राजमार्ग निर्माण भएर सञ्चालनमा आएको छ,” उहाँले भन्नुभयो, “राजमार्ग निर्माणसँगै आसपासमा सुविधासम्पन्न रिसोर्ट र होटेल खुल्ने क्रम बढेको छ । अब पर्यटन प्रवर्धनमार्फत बिपी राजमार्गले नै त्यस क्षेत्रमा रहेका ऐतिहासिक पाटीपौवा र सम्पदाको महत्व ब्युँताउन सक्छ ।”

त्यस्तै सुनकोशी गाउँपालिकाको दुम्जामा रहेका पाँच वटा पाटीमध्ये कुशेश्वर महादेव मन्दिरमा रहेका दुई वटा पाटी पुरातìव विभागको रेखदेखमा संरक्षण हुँदै आएका छन् । अन्य दुई पाटीको अस्तित्व लोप भइसकेको छ भने अर्को एक जीर्ण अवस्थामा रहेको स्थानीयको भनाइ छ । सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइराला बागमती प्रदेश सरकारको सहयोगमा त्यस्ता पाटीपौवाको मर्मत र घेराबार गरी संरक्षण हुँदै आएको बताउनुहुन्छ ।