• १३ कात्तिक २०८२, बिहिबार

प्रकृतिको अनुपम उपहार ‘विचित्र गुफा’

blog

गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुको विचित्र गुफा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), कात्तिक १३ गते । प्राकृतिक रुपमा दुई दर्जन बढी कला र आकृतिले सजिएकोले विचित्र गुफा प्रकृतिको अनुपम उपहार हो । धुर्कोट गाउँपालिका–५ वस्तुको जङ्गलमा गुफा फेला परेका साढे तीन दशक बढी भए । तर संरक्षण र उचित विकास समयमै नहुँदा पर्यटकीय गन्तव्य बन्न सकेको छैन । 

सदरमुकाम तम्घासबाट ४५ र मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडकखण्ड छोडेपछि १५ मिनेटमा विचित्र गुफा पुगिन्छ । गुफा पुग्न कच्ची सडक छ । अझै व्यवस्थित पार्किङ छैन । 

अहिलेसम्म गुफाको खास अनुसन्धान नभएपनि प्राकृति रुपमा बनेको धार्मिक कला आकृतिका आधारमा गुफा नेपालकै ठुलो हुन सक्ने स्थानीयवासी दावी गर्छन् । गुफाका धेरै विशेषता लुकेरै बसेका भएपनि राज्यको तर्फबाट विकासमा ठूलो लगानी र अनुसन्धानका काम नभएको धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशब भण्डारीले बताउनुभयो । 

गुफाभित्र फेला परेका संरचनाहरुलाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिबालय, स्वर्गजाने बाटो, लगायतका नामाकरण गरिएको छ । गुफाको मुख्य प्रवेशद्वारबाट झण्डै १५० मिटर भित्र पसेपछि अत्यन्तै ठुलो सभाहल छ । गुफाको सभाहलमा दुई सय जना सजिलै अट्याउँछन् । यो सभाहलमा विभिन्न संघसंस्थाहरुले सभा तथा बैठक गर्ने गरेका छन् । सभाहलपछि नजिकै रहेका शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, लगायतका आकृतिहरुले पर्यटकको लागि निकै आर्कषक रहेको गुफा संरक्षक रहनुभएका स्थानीय लालमणी भण्डारीले जानकारी दिनुभयो । 

सभाहलको माथिल्ला सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक रुपमा रहेका बुट्टाहरुको बिचमा रातो माटोले पोतेर मण्डप छ । गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको र सोहि अनुसार प्रचार गरिएको भण्डारीले बताउनुभयो ।

२०६२-०६३ सालसम्म फड्के तरेर जोखिमपूर्ण रुपमा गुफा पुग्नु पथ्र्यो । संघिय संरचना पहिलेसम्म पर्यटन तथा संस्कृति मन्त्रालय र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति लगायतबाट गुफा संरक्षणका केहि काम भएका थिए । संघियतापछि तीनै तहका सरकारबाट बिचित्र गुफाको पुर्वाधार विकास, संरक्षण एवं प्रवर्धनका लागि काम भइरहेका छन् । धुर्कोट गाउँपालिकाले गुफा, ऐतिहासिक धुर्कोटको कोट, शहिदपार्क, बुढीकोट पैदन मार्ग लगायत पुराना धार्मिक तथा ऐतिहासिक स्थलहरुको विकास एकीकृत विकास गरेर रिङ्गरोड बनाइरहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिनुभयो । 

गुफालाई पर्यटकीय गन्तव्य बनाउन सके गाउँपालिकाकै समृद्धिको आधार बन्न सक्छ । गुफाको प्रचार प्रसार र विकासका लागि सुचना केन्द्र स्थापना गरिएको छ । गुफामा पटक–पटक फ्रान्सेली पर्यटकहरुले प्रत्यक्ष अवलोकन गरेका छन् । प्राकृतिक रुपमै बिचित्र भएकै कारण बिचित्र गुफाका रुपमा परिचित छ । भौगोलिक विकटताको कारण पर्यटकसँग गुफा नजिक बन्न सकिरहेको छैन । गुफामा कुनै कृतिमता छैन । जङ्गगल र पहाडको खोँचमा रहेको गुफाभित्र धार्मिक दृष्टीकोणले हेर्दा दर्जनौ आकृति भएकाले पर्यटक आश्चर्यमा पर्छन् । 

बिदेशी पर्यटकहरुको नेतृत्व गरेर विचित्र गुफासहितका पर्यटकीय स्थलहरुमा पुग्दै आउनु भएका अरबिन्द आश्रमका प्रमुख स्वामी रामचन्द्र दासले योग र साधनको लागि बर्र्सेेनी सयौ बिदेशी पर्यटक आउने भएकाले जिल्लाका पर्यटकीय स्थलहरुमा जोड्ने आफ्नो प्रयास भइरहेको बताउनुभयो । जिल्लाका पर्यटकीय स्थलमध्ये बिचित्र गुफाको प्राकृतिक बिचित्रताले फ्रान्सेली नागरिक निकै खुसी भएको दासले बताउनुभयो ।