चितवन समाचारदाता
चितवन, कात्तिक १३ गते । समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय भरतपुरको कारबाहीको तयारी थालेको छ । पटक पटक ताकिता गर्दासमेत निर्माणको काम सम्पन्न नगरेका पाँच वटा निर्माण कम्पनीलाई कारबाही किन नगर्ने भनेर सूचना प्रकाशित गरेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले कार्यालय अन्तर्गत रहेका विभिन्न पाँच वटा क्षेत्रमा निर्माणको ठेक्का पाएका कम्पनीले समयमा काम नगरेपछि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
“धेरै पटक हामीले काम गर्नका लागि समय दियौँ तर वास्ता नगरेपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाएका हौँ,” उहाँले भन्नुभयो, “सूचना प्रकाशित भएपछि काम सम्पन्न गर्ने प्रतिबद्धतासहित प्रक्रियामा आएमा कारबाही रोकिने छ तर बेवास्ता गरे कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढ्छ ।”
कार्यालयका अनुसार खरिद सम्झौताबमोजिम काम नगरेको, निर्माणको काम सुरु गरे पनि जानकारीबिना लामो समयदेखि सम्पर्कमा नआएको, निर्माण गर्दागर्दै बिचैमा काम छाडेको, कार्यतालिका अनुसारको प्रगति नभएको, सम्झौताबमोजिम कार्यसम्पादन नभएको भन्दै सातदिने म्याद दिएर सूचना प्रकाशित गरेको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो ।
ठेक्का सम्झौता भएर काम नगरेका योजनामा भरतपुर महानगरपालिकाको चक्रपथ, भरतपुर महानगरपालिका वडा नं. २७ मा निर्माण हुँदै गरेको बेतरी खोलापुल, भरतपुर–माडी सडक, पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको पम्फा खोलापुल र भरतपुरको बाइपास सडक रहेका छन् ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले भरतपुर महानगरपालिकामा निर्माण हुँदै गरेको चक्रपथको काम अहिलेसम्म ३२.७१ प्रतिशत, बेतरी खोलापुलको प्रगति १३.७६ प्रतिशत, भरतपुर–माडी सडकको ५७.२५ प्रतिशत, पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको पम्फा खोलापुलको ७९.९२ प्रतिशत र भरतपुरको बाइपास सडकको काम ८९.८० प्रतिशत मात्रै सम्पन्न भएको जानकारी दिनुभयो ।
भरतपुर चक्रपथ, बेतनी खोलापुल र भरतपुर–माडी सडकको निर्माण जिएमआर कन्स्ट्रक्सन नेपाल प्रालिले ठेक्का पारेको थियो । पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको पम्फा खोलाको पुलको ठेक्का लोहनी एन्ड ब्रदर्श प्रालि भरतपुर र भरतपुर बाइपास सडकको निर्माण गौरी पार्वती निर्माण सेवाले ठेक्का सकारेको थियो । यी सबै निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।
ठेक्कामध्ये भरतपुरको बाइपास सडकको काम करिब अन्तिम चरणमा पुगेको, मर्मत नगरेको बाँकी रहेको कामलाई बेवास्ता गरी छाडेको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । धेरै पटक म्याद थप गरेर काम गर्ने मौका दिँदासमेत अटेर गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । चार किलोमिटर लम्बाइ रहेको भरतपुरको बाइपास सडक १० वर्षअगाडिबाट निर्माण कार्य सुरु भएकोमा अहिलेसम्म पूरा भएको छैन ।
कारबाहीको प्रक्रिया अगाडि बढेका योजनामा बढीमा १० वर्षअगाडिबाट काम सुरु भएको थियो । निर्माण पूरा नभएका योजना अलपत्र परेका छन् । कतिपय योजना काम सुरु भएको र निर्माण पूरा नहुँदै भत्केर लथालिङ्ग अवस्थामा पुगेको छ ।