• १३ कात्तिक २०८२, बिहिबार

सप्तरीमा प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार गर्ने तीनजना पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक १३ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ मा प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।

प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैजना उपर कार्यवाही प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो  ।

बुधबार राति करिब ८ः३० बजे शम्भुनाथ नगरपालिका १ गोविन्दचौकस्थित एक खाजा पसलको सटरमा केही व्यक्तिहरुले ढुङ्गामुढा गरिरहेको जानकारी आफुलाई आएपछि प्रहरीलाई खबर गरेको वडा अध्यक्ष जिवछ साहले बताउनुभयो ।

त्यसपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुङ्गामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर उहाँहरुबाट प्रहरीमाथि नै हातपात र  गिट्टी र ढुङ्गा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।

घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका हुन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ । उहाँको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने र रञ्जितको सामान्य उपचार गरिएको छ । घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।