राजन रावत
हुम्ला कात्तिक १३ गते । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका अधिकांश घरका ढोकामा ताला लागेको छ । बसाइसराइँ र रोजगारी तथा व्यापारका लागि चीनको ताक्लकोट जाने भएका कारण लिमीका अधिकांश घरमा ताला लगाइएको हो ।
लिमीको हल्जी गाउँका छिरिङ दावा तामाङले ४४ घरधुरी भएको गाउँमा हाल तीन घरधुरी मात्र रहेको र अरु सबै घरमा ताला लगाइएको बताउनुभयो ।
उहाँले हाल तीन घरमा सात जना मात्र बसोवास गरिरहेको र अरु सबै काठमाडौंतर्फ लागेको बताउनुभयो । ताला लगाइएका घरका सदस्यले महत्त्वपूर्ण र मूल्यवान सामान आफुसँगै लिएर गएका छ भने गाईवस्तु छिमेकी हल्जी गाउँमा रहेका नातेदारको जिम्मा लगाएका छन् । जग्गा जमिन भने बाँझो छ ।
त्यस्तै, हाल जाङ गाउँमा रहेका तीन घरधुरीका परिवार पनि चाँडै काठमाडौँ जाने तयारीमा रहेका छन् हिउँदमा उक्त गाउँ मानिसविहीन हुने भएको छ ।
यसैगरी, लिमीकै अर्को गाउँ तीलमा पनि हाल २३ घरधुरी बसोवास गर्दै आएको स्थानीय कोनुर्वु तामाङले बताउनुभयो । २३ मध्य नौ घरधुरीका मानिस ताक्लाकोट गएका कारण घरमा ताला लगाउने कार्य गरिएको छ । सो गाउँमा ६४ घरधुरीले बसोवास गर्दै आउनुभएका थिए । हाल तील गाउँमा बसोवास गर्नेमध्य केहीले गाउँ छोडेर काठमाडौँ जाने तयारी गरिरहेका छन् ।
हल्जी गाउँका ९२ घरधुरी रहेका छन् । यसरी घरमा ताला लगाउने कार्य बढ्दै गएमा लिमीका गाउँहरु रित्तिन्ने अवस्था देखिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । जान हुन्न भने कसैले नमान्ने बताउदै उहाँले भोली लिमी मानवविहीन अवस्था हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।