• १० कात्तिक २०८२, सोमबार

वाणिज्य बैंकको भवन भाडामा लिँदै पोखरा महानगर

blog

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १० गते ।
जेनजी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि पोखरा महानगरपालिकाले पोखरा–९, नयाँबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनबाट सेवा दिने भएको छ । पोखरा–८, न्युरोडस्थित महानगरको कार्यालय आगजनी र तोडफोडपछि प्रयोग गर्न नमिल्ने भएपछि महानगरले विकल्प खोजेको हो ।

महानगरले ठाउँ ठाउँबाट सेवा सञ्चालन गर्दा नगरवासीलाई कठिनाइ भएकाले एकै ठाउँबाट सेवा दिन घर भाडामा लिने तयारी भएको नगर प्रमुख धनराज आचार्यले उल्लेख गर्नुभयो । आन्दोलनपछि महानगरले पोखरा सभागृह र दमकलको भवनबाट सेवा दिइरहेको छ । सभागृहसमेत चाँडै पुननिर्माण गर्ने महानगरको तयारी छ ।

“वाणिज्य बैंकको भवनको दुई तला खाली छन् । त्यसैमा सर्ने तयारी गरिएको हो,” उहाँले भन्नुभयो । महानगरले अहिले कृषि महाशाखा, पूर्वाधार, सामाजिक विकास, प्रज्ञा प्रतिष्ठान भवन भाडामा लिएर चलाइरहेको छ । अहिले दमकलको भवनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन सरसफाई, सूचना प्रविधि र दमकल कार्यालय छन् भने सभागृहमा प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरीका कार्यालय छन् ।

व्यवसाय प्रवर्धन केन्द्रको भवनमा राजस्व र शहरी विकास महाशाखासमेत राखिएका छन् । छरिएर रहेका महाशाखाहरुलाई एकै ठाउँमा ल्याउँदा सहज हुने भएकाले यसो गर्न लागिएको नगर प्रमुख आचार्यको भनाइ छ । ड्यामसाइडमा रहेको शिक्षा महाशाखा र लेखनाथमा रहेको स्वास्थ्य महाशाखा आफ्नै साविककै स्थानमा रहने छन् । महानगरले आफ्नै प्रशासकीय भवनसमेत बनाउने तयारी गरेको छ ।

हालै भएको महानगरको कार्यपालिका बैठकले करिब २० हजार वर्गफिट भाडामा लिएर एकीकृत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । महानगरका सूचना अधिकारी कृष्ण तिवारीले मासिक सात लाख हाराहारी भाडा तिर्ने गरी तीन वर्षका लागि सम्झौता हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।