• १० कात्तिक २०८२, सोमबार

सय वर्ष पुरानो मटेला पुल

blog

जाजरकोटको मटेलास्थित भेरी नदीमा बनाइएको सय वर्ष पुरानो पुल । तस्बिर : सहदेव बस्नेत

जाजरकोट समाचारदाता

जाजरकोट, कात्तिक १० गते  । विसं १९८० मा जाजरकोटको मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रूपमा जोड्ने काम गरेको छ । 

तत्कालीन जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोेरा लप्टन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह विसं १९६५ मा तत्कालीन श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो । चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ ? भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनू भनी चन्द्रशमशेरले विसं १९७३ मा आदेश दिएको कुरा इतिहासका अध्येता राजुराजा सिंहको जाजरकोट परिचय पृष्ठ ८ र ३२ मा उल्लेख छ ।

तत्कालीन सरकारले सो पुल बनाउन बेलायत सरकारको सहयोग लिएको थियो । स्कटल्यान्डका एक इन्जिनियरको स्टिमेट तथा डिजाइनमा बनेको यो पुल एक शताब्दी पुग्न लाग्दा पनि जस्ताको तस्तै छ । दाङको कोइलावास नाकाबाट हात्तीद्वारा पुलका लागि आवश्यक फलामे लट्ठा ल्याइएको थियो । जाजरकोटवासीले पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानीलगायतका काममा श्रमदान गरेको कुरा बुढापाकाबाट सुन्न पाइन्छ । यो झोलुङ्गे पुलमा सुरुमा काठका फल्याक राखेर दस÷दस वर्षमा काठ फेर्ने गरिन्थ्यो । उक्त पुलमा केही वर्षअघि स्टिल पाता राखिएको छ । 

सदरमुकाम खलङ्गादेखि छ किलोमिटरको दुरीमा रहेको मटेला पुल क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा रहेको छ । उक्त पुल चलचित्र छायाङ्कन तथा तस्बिर खिच्नका लागि पनि उपयुक्त मानिने स्थानीय दीपक नेपालीले बताउनुभयो । उहाँका अनुसार भेरी नदीले आवागमनमा पारेको अवरोधलाई ध्यानमा राखी पुलको समस्या समाधान गरिदिएकोमा अहिले पनि राजकुमारी बालकुमारी शाहलाई जाजरकोटवासीले सम्झिने गरेका छन् ।