• १० कात्तिक २०८२, सोमबार

दरबारपरिसर झाडीमा परिणत

blog

भूकम्पले क्षतिग्रस्त दरबार । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, कात्तिक १० गते । भूकम्प गएको दुई वर्षसम्म पुनर्निर्माण नहुँदा जाजरकोटको सेतो दरबार झाडीमा परिणत हुन लागेको छ । २०८० कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले बस्न नमिल्ने गरी भत्किएपछि पुनर्निर्माण नहुँदा झारपात उम्रिन थालेका छन् । 

देशका पर्यटकीय गन्तव्यमध्ये सूचीकरणमा परेको ऐतिहासिक दरबार भूकम्पले भत्काएपछि थप ओझेलमा परेको छ । भूकम्पअघि जिल्ला प्रशासन कार्यालयबाट जनताले पाउने सेवा सोही भवनबाट दिने गरिएको थियो । दरबार पुनर्निर्माणमा कहीँबाट पहल भएको छैन । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत समीर गौतमका अनुसार सहरी विकास मन्त्रालयले गत वर्ष दरबार पुनर्निर्माण गर्न ड्रोइङ डिजाइनसहित निर्माण गर्न १५ करोड विनियोजन गरेको थियो तर पुरातत्व विभागले निर्माणमा रोक लगाएपछि रोकिएको हो । 

उहाँका अनुसार सहरी विकास मन्त्रालय र पुरातत्व विभागले एकआपसमा सहकार्य नगरी वस्तुस्थिति नबुझेर बनाउन खोजेपछि रोकिएको छ । 

सङ्घीय सरकार, पुरातत्व विभागबाट २५० वर्ष पुरानो पुरातात्त्विक तथा ऐतिहासिक महत्वको दरबार पुनर्निर्माणका लागि सरकारले ढिलासुस्ती गर्दा ओझेलमा परेको छ । धुजा धुजा भएको दरबारमा घाँस, झार उम्रेका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार १६ औँ राजा इन्द्रनारायण शाहले निर्माण सुरु गरी २० औँ राजा नरेन्द्रविक्रम शाहका पालामा विसं १८२५ मा निर्माण भएको सो दरबार सरकार र सरोकारवाला निकायको बेवास्ताका कारण खण्डहरमा परिणत हुँदै छ । 

पुनर्निर्माणका लागि सरोकारवालाले आग्रह गरे पनि सरकार, पुरातत्व विभागले बेवास्ता गरेको आरोप उहाँले लगाउनुभयो । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय सम्पदाका रूपमा रहेको जाजरकोट दरबारको अस्तित्व जोगाउन संरक्षण संवर्धनमा सरकार, पुरातत्व विभागले पहल नगरेका कारण ओझेलमा परेको छ । भूकम्प गएको दुई वर्ष बित्न एक हप्ता बाँकी रहेका बेला सरकार र सरोकारवाला निकाय उदासीन बनेपछि दरबार हेर्न आउने पर्यटकको आकर्षण घटेको छ ।