गोकर्ण दयाल
बैतडी, कात्तिक १० गते । उपचार, हेरचाह र सामाजिक सद्भाव नपाउँदा मानसिक रोगी सडकमा बेवारिसे घुमिरहेको पाइएको छ । जिल्ला सदरमुकाममा मात्रै दैनिक तीन/चार जना मानसिक रोगी सडकमा डुलिरहेको देख्न सकिन्छ ।
स्थानीय सरकार र सामाजिक अभियन्ताले समेत मानसिक रोगीलाई उपचार गर्न सहयोग गर्न सकेका छैनन् । जिल्ला अस्पताल बैतडीको तथ्याङ्क अनुसार घरपरिवारको रेखदेखमा विशेषज्ञ चिकित्सकको सल्लाहमा औषधी सेवन गरिरहेकाको सङ्ख्या दुई सय रहेको छ तर परिवारको रेखदेख नपाउँदा सडकमा बेवारिसे घुमिरहेका मानसिक रोगी भने उपचार नपाई भौँतारिरहेका छन् । त्यसमध्ये कतिपयले समाजिक सुरक्षा भत्ताको लोभमा जानी जानी उपचार नगराएको पनि फेला परेको बताइएको छ ।
बैतडी जिल्ला अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुशील विकले मानसिक रोगीको कागजपत्र बनाइदिन आग्रह गर्दै आउनेको सङ्ख्या पनि त्यत्तिकै रहेको बताउनुभयो । उपचारमा भन्दा उनीहरूको ध्यान मानसिक रोगीले पाउने भत्तामा रहेका कारण पनि रोगीहरू उपचारबाट वञ्चित रहेको उहाँले सुनाउनुभयो ।
चिकित्सकले मानसिक रोगको उपचार गरेर निको हुने बताए पनि अधिकांश घरपरिवारका सदस्य उपचार गराउनुभन्दा पनि भत्ता मिल्ने कागजका लागि दबाब दिने गरेका छन् । जिल्ला अस्पताल बैतडीले विशेषज्ञ चिकित्सक बोलाई मानसिक स्वास्थ्य समस्या भएकालाई उपचार सेवा दिँदै आएको छ । हरेक महिना सञ्चालन हुँदै आएको मानसिक रोगको उपचार शिविरमा दुई सयभन्दा बढीले नियमित उपचार सेवा लिँदै आएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
उद्धारको बजेट काटियो
स्वास्थ्य कार्यालय बैतडीले तीन वर्ष बेवारिसे मानसिक रोगीको उद्धार गरी उपचारका लागि मानव सेवा अश्रममा पठाउने गरेको थियो । पछिल्लो दुई वर्षयता कुनै बजेट नआएको स्वास्थ्य कार्यालय बैतडीका जयसिंह बडालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेवारिसे मानसिक रोगीको उद्धारका लागि पछिल्लो दुई वर्षयता कुनै बजेट आएको छैन । बजेट आएका बेला बैतडीबाट आठ जना बेवारिसे महिलाको उद्धार गरी उपचारका लागि पठाएका थियौँ । बजेट आउन छाडेपछि उद्धारको काम गर्न सकेका छैनौँ ।”
आत्महत्याको प्रमुख कारणमध्ये मानसिक स्वास्थ्य समस्या मूल कारण भए पनि ७० प्रतिशत मानसिक रोगी उपचारको दायरामा पुग्न सकेका छैनन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०८०/८१ मा ५५५ जनाले आत्महत्या गरेका छन् । बैतडीमा मात्रै गएको एक वर्षमा ३८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । सुदूरपश्चिममा प्रतिएक लाख मानिसमा २०.४७ प्रतिशत मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ ।