• १० कात्तिक २०८२, सोमबार

खलो प्रथाले बन्द हुँदै आरन

blog

आरनमा काम गर्नुहुँदै बैतडीका शङ्कर टमटा । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, कात्तिक १० गते । खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलोका रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन् । कोही आरन पेसा छाडेर अन्य व्यवसाय गर्न थालेका छन् ।  

आरनसँगै गाउँमा खेतीपातीको कामसमेत घट्न थालेको छ । युवा जनशक्ति पलायन र बसाइँसराइका कारण गाउँको अधिकांश जमिन बाँझो छ । सुर्नया गाउँपालिका–६ का वीरेन्द्र लुहार खलो प्रथाका कारण परम्परागत आरनको काम छाडेर सिमेन्टका मूर्ति बनाउने काममा लाग्नुभएको छ ।  

गएको १० वर्षयता गाउँका अधिकांश आरन बन्द भएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रमचन्द्र ऐरीले बताउनुभयो । आरन पेसा जोगाउन स्थानीय तहको सरकारले आरन सुधार र औजार उपकरणका लागि आर्थिक सहायता गरे पनि नयाँ पुस्ता आरन पेसामा टिक्न नसकेको उहाँले बताउनुभयो । आरन पेसामा लागेका समुदायलाई सुदूरपश्चिम प्रदेश सरकारबाट २० हजार रुपियाँका दरले आरन सुधार गर्न सहयोग गरिरहेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा बैतडीका २५ जना आरनकर्मीलाई आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । 

राज्यले आरन सुधार गर्न १५/२० हजार रुपियाँ दिएर औजार उपकरण किन्न सहयोग गरे पनि नयाँ पुस्ता आरन पेसामा टिक्न सकेका छैनन् । आरन पेसा सङ्कटमा पर्नुको मुख्य कारण खलो प्रथा, जातीय विभेद, आर्थिक सङ्कट, शिक्षा र स्वास्थ्यमा पहुँच नहुनु रहेको दलित अगुवा नेता राजुराम भुलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आरनको काम गरेर वर्ष दिन खान पुग्दैन । भारतमा दुःख कष्ट भए पनि ज्यालामजदुरी गरेर वर्षमा करिब दुई लाख रुपियाँ कमाउन सकिन्छ । स्थानीय तहको सरकारले आरन पेसा जोगाउन १०/२० हजार रुपियाँ सहयोग गर्नुभन्दा आरनको काम गर्नेको ज्याला निर्धारण, जीवन बिमा, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेर जातीय विभेद हटाउनु पर्छ ।”

बैतडीमा दलितको जनसङ्ख्या करिब ५५ हजार हाराहारी रहेका छन् । यीमध्ये करिब ३० हजार मानिस आरनको काम गर्ने सिप भएका विश्वकर्मा परिवारका रहे पनि पछिल्लो समय आरनको काम छाड्नेको सङ्ख्या बढेको सामाजिक अभियन्ता नेता कर्ण दयाल सोराडीले बताउनुभयो ।