पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, १० कात्तिक गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले “विभिन्न चाड पर्वले नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभएको छ ।
छठ पर्व पावन अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको एक सुन्दर पक्ष धर्म निरपेक्षता भएको र यसले सबै धर्म र सम्बन्धित समुदायका चाडपर्वहरूलाई सम्मान गरेको उल्लेख गर्नुभएको छ ।
सभामुख घर्ती मगरले चाडपर्वहरूलाई धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा लिँदै, यिनमा रहेका सकारात्मक संस्कार र प्रवृत्तिहरूको संरक्षणबाट हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो र जीवनमूखी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले छठ पर्व, जुन विशेष रूपमा तराई (मधेश) क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ, त्यसको महत्त्वमाथि प्रकाश पार्नुभयो । पर्वमा महिला दिदीबहिनीहरूले परिवारको कल्याणको कामना गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिई पूजा विसर्जन गर्ने परम्परा रहेको छ ।
“विभिन्न चाड पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान सहित अनेकतामा एकता कायम गर्नमा महत्त्वपूर्ण योगदान पु¥याएको छ,’’ सन्देशमा उल्लेख छ ।
छठ पर्व –२०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण लुम्बिनी प्रदेशवासीसहित समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अन्तमा, उहाँले लुम्बिनी प्रदेश सभाले सामाजिक न्याय स्थापित गर्न र जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक रूपमा सबैको हकअधिकार संरक्षणका लागि कानुन निर्माणमा विशेष ध्यान दिएको जनाउँदै सबै समुदायको सहभागिताबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल र सुदृढ बनाउन सकिने धारणा राख्नुभएको छ ।