• १९ असार २०८१, बुधबार

विकासमा विद्यार्थीसँग सहकार्य

blog

डोटी समाचारदाता

डोटी, असार १९ गते ।  खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने भन्दै शैक्षिक संस्थासँग सहकार्य गर्न थालिएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले पर्यटन प्रवद्र्धनका विविध उपायको खोजीका क्रममा विद्यार्थीसँग सहकार्य गर्न लागिएको हो । 

सहकार्यको पहिलो चरणअन्तर्गत डोटी जिल्ला सदरमुकाम सिलगडीस्थित डोटी बहुमुखी क्याम्पस सिलगडीका विद्यार्थीसँग खप्तडको पर्यटन विकासमा विद्यार्थीको भूमिका विषयक अन्तक्र्रिया गरिएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्रसँग सहकार्य गरिन थालेको छ । 

शुक्रबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा खप्तड क्षेत्रको पर्यटकीय र धार्मिक महत्त्व, यस क्षेत्रको आर्थिक विकासका पर्यटन क्षेत्रको महत्त्व र पर्यटन विकासमा आगामी योजनाको बारेमा क्याम्पस प्रमुख, सहप्राध्यापक, कर्मचारी र स्नातक तहका विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेका थियो । 

खप्तड क्षेत्रको पर्यटन विकासमा खप्तड क्षेत्रका आसपासलगायत पर्यटनसँग सम्वन्धित देशका अन्य क्षेत्रका शैक्षिक संस्थासँग समेत सहकार्य गरिने बताइएको छ ।