• ९ कात्तिक २०८२, आइतबार

पोखरा–मुग्लिङ सडक : अझै हट्न सकेन व्यवधान

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, कात्तिक ९ गते । पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्गमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पोखरालाई राजधानी काठमाडौँ र पूर्वी नेपालसँग जोड्ने यो राजमार्ग निर्माणमा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पुर्‍याइरहेको छ । दुई पटक थप भएको म्याद सकिन डेढ महिना बाँकी हुँदा पनि सो सडकको पश्चिम खण्डको भौतिक प्रगति ६२ प्रतिशत मात्र छ ।

राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ । पश्चिम खण्डको म्याद २०२५ डिसेम्बर ३१ सम्म छ । २०७८ जेठमा ठेक्का सम्झौता भए पनि तीन महिनापछि मात्र चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । यसको लागत सात अर्ब ४० करोड ४६ लाख रुपियाँ छ । पछिल्लो समय निर्माण कम्पनीले कामलाई गति दिए पनि केही व्यवधान बाँकी छन् । पोखरा–मुग्लिङ सडक आयोजनाका इन्जिनियर अनन्त बराल अझै केही घरटहरा हटाउन र बिजुलीका पोल सार्न बाँकी रहेको बताउनुहुन्छ । सडक विस्तारका लागि अझै विजयपुर भिमाद क्षेत्रका ३८ बिजुलीका पोल हटाउन बाँकी छन् ।

इन्जिनियर बराल भन्नुहुन्छ, “सेती आसपासका क्षेत्रमा १४ वटा, अन्तर्राष्ट्रिय विमानस्थलका ४९ वटा र एयरपोर्टदेखि कुँडहर क्षेत्रमा ५४ पोल हटाउन बाँकी छन् । यो क्षेत्रमा रहेका दुई ट्रान्सफर्मरसमेत सडक विस्तारका लागि स्थानान्तरण गर्न बाँकी छन् । तनहुँको कोत्रेदेखि पोखराको पृथ्वी चोकसम्मको क्षेत्रमा २०७ वटा संरचना हटाउने निर्णय भएकोमा केही अझै हटाइएका छैनन् । पछिल्लो क्रममा मुआब्जा लिन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे पनि केही जग्गाधनी अझै सम्पर्कमा नआएको बरालले बताउनुभयो । पछिल्लो समय निर्माण कम्पनीले तदारुकताका साथ काम गरेको देखिएकाले यो आर्थिक वर्षभित्र सडक स्तरोन्नति सकिने अपेक्षा गरिएको छ । पश्चिम खण्डमा १३ पुल रहेकामा ११ पुल निर्माण भइसकेका छन् । पश्चिम खण्डकै ठेक्कामा रहेको विजयपुरको पुल धमाधम निर्माण भइरहेको छ । 

मादी पुल मात्र बाँकी

आयोजना अन्तर्गत पूर्वी खण्डमा मादी नदीको पुल र बाटोको काम अन्तिम चरणमा पुगेको छ । असोज मसान्तसम्मको विवरण अनुसार यो खण्डको भौतिक प्रगति ८६ प्रतिशत छ । 

आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पूर्वी खण्डको काम सकिने क्रममा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “डेढ वर्षसम्मको मर्मतसम्भारको हिसाब गर्दा ८७ प्रतिशत प्रगति देखिएको छ ।”

यो खण्डको मादी नदीको पुल भने अलग्गै ठेक्कामा लगाइएको छ । मादीको सिग्नेचर पुलको प्रगति ७२ प्रतिशत छ । पुलको ठेक्का अवधि गएको असार १९ सम्म रहेकोमा म्याद थपको चरणमा छ भने बाटोका लागि म्याद थप जरुरी नहुने पाण्डेले उल्लेख गर्नुभयो । 

पूर्वी खण्ड ४१.४५ किमी छ । यो खण्डमा बन्ने १७ पुल बनिसकेका छन् । यो खण्डमा २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रुपियाँमा यो खण्डको ठेक्का पाएको हो ।