• १६ चैत २०८०, शुक्रबार

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

blog

काठमाडौँ, असार १७ गते । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ ।

तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताउनुभएको छ । उहाँहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताउनुभयो । उहाँहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताउनुभयो । 

प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक÷पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू सुदृढ बन्नुपर्ने, समयसापेक्ष रूपमा आन्तरिक रूपान्तरित र जनताका आकाङ्क्षा सम्बोधन गर्न अझ प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

आन्तरिक संरचना बदल्नुपर्छ

प्राडा मल्लले दलीय व्यवस्थामा राजनीतिक दलहरूले राज्य र जनताका बीचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले दलहरू परिवर्तनका संवाहक रहेको बताउँदै स्वतन्त्रलाई उम्मेदवार बन्ने बाटो पनि त्यही दलहरूको बलिदानीपूर्ण सङ्घर्षबाट लेखिएको संविधानबाटै सम्भव भएको उल्लेख गर्नुभयो । 

अहिले स्वतन्त्र उम्मेदवारी दिनेको लहर देखिए पनि यसले राजनीतिक परिवर्तनको नेतृत्व गर्ने दलहरूलाई खासै प्रभाव पार्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्र निर्वाचन हुनुमा केही कारण पक्कै छन् । दलहरूले जनआकाङ्क्षा परिपूर्ति गर्ने दृढता व्यक्त गर्नुपर्छ । जनताको चाहनाअनुसार काम गर्नुपर्छ । समयमै सेवा  प्रदान गर्नुपर्छ । सेवाग्राहीले दुःख पाउनु हुँदैन । यति भए दलहरूप्रति जनविश्वास बढ्छ ।” बहुदलीय लोकतन्त्रलाई सुदृढ बनाउन कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकता मल्लले आँैल्याउनुभयो । 

स्थापित दलबाटै सम्भावना खोज्ने

प्राडा पण्डितले स्थापित दलहरूलाई सिध्याउँछु भनेर स्वतन्त्र दल स्थापना गर्ने कदम हास्यास्पद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलहरूको उत्थान र पतन कुनै व्यक्तिले घोषणा गरेर हुँदैन । जनताप्रतिको उत्तरदायित्व बहन गर्ने अभिलाषा, कार्यान्वयन गर्ने अठोट र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको सबलीकरण दलहरूको उत्थानसँग जोडिएको हुन्छ ।”उहाँले केही हदसम्म नागरिक पङ्क्तिमा राजनीतिक दलका केही नेताका गतिविधिका कारण वितृष्णा आए पनि त्यस किसिमका प्रवृत्तिविरुद्ध दलहरूले आन्तरिक रूपमै कठोर कदम चाल्नुपर्ने बताउनुभयो । 

जनताको विवेकमा शङ्का गर्न हुन्न लेखक/पत्रकार नेपालले गणतन्त्रमा राजनीतिक मान्यता नै मान्छेलाई बोल्न दिनुपर्छ र राजनीतिक गतिविधिमा समावेश हुनुपर्छ भन्ने रहेको बताउनुभयो तर स्वतन्त्रका नाममा नागरिकको स्वतन्त्र चेतनालाई निर्वाह गर्न कामप्रति आफ्नो विमति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वतन्त्र भन्नेहरूले सबैले भनेकै कुरा भनिराख्नुभएको छ तर अलि चर्को स्वरमा बोल्नुहुन्छ, अरू अलि मत्थर स्वरमा बोल्छन् । यसले केही फरक पर्ने होइन । स्वतन्त्रहरूले बिथोल्न खोजेर लोकतान्त्रिक गणतन्त्र बिथोलिँदैन । लोकतन्त्रले यति खेल्न दिन्छ ।”उहाँले स्वतन्त्र भन्ने बित्तिकै उसका आफ्नै सीमा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयतालाई केन्द्रित गरेर स्वतन्त्र हो कि ? कस्तो स्वतन्त्र हो ? स्वतन्त्रलाई बुझ्ने मानक हामीले बनाउनुपर्छ । स्वतन्त्र उम्मेदवार हुन्छ, स्वतन्त्र मान्यता हुन्छ, स्वतन्त्र सिद्धान्त पनि हुन्छ तर स्वतन्त्र पार्टी चाहिँ हुँदैन ।”

Author

अशोक अधिकारी