• १८ असोज २०८२, शनिबार

चाडपर्व लक्षित सेवा यात्रु सहायता कक्ष

blog

चाडवाडको बेला सहज र सुरक्षित यात्राका लागि महोत्तरी ट्राफिकले बर्दीबासमा सञ्चालन गरेको यात्रु सहायतका कक्ष । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज ६ गते । दसैँ लगायत प्रमुख चाडपर्व लक्षित गरि महोत्तरीको विभिन्न ठाँउमा सोमवार (आज) देखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै बर्दीबास, गौरीडाँडा, गौशाला रोड, जलेश्वर र गौशाला बजार गरी पाँच स्थानमा नागरिक-यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दीबासले जनाएको छ । 

बर्दीबासस्थित सिन्धुली चोकमा सोमबार नगरप्रमुख प्रहलाद क्षेत्रीले यात्रु सहायता कक्षको उद्घाटन गर्दैे सडक सञ्जाल र यातायातको अत्यधिक चाप हुने बर्दीबासमा सबै यात्रीलाई ‘मुस्कान सहितको सेवा’ प्रदान गर्न ट्राफिक र यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । 

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीप्रसाद जोशीका अनुसार यातायात व्यवस्थापन, दुर्घटना यात्रा, यात्रुको सहज आवागमन र ट्राफिक नियमनको उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जनाउनुभयो । यात्रु सहायता कक्षले प्रशासन, यातायात व्यवसायी र नागरिक समाजको सहकार्यमा २४ सै घण्टा सेवा दिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सहायता कक्षमार्फत अलपत्र परेका यात्रुको गुनासो सुन्ने, बढी भाडा लिने, बिच बाटोमै यात्रु झार्ने, टिकट र सवारीमा कालोबजारी गर्ने जस्ता अवाञ्छित कार्यको निगरानी तथा नियन्त्रण जस्ता चौवीस घंटे सेवा परिचालित गरिने छ ।’

यातायात व्यवसायी सीताराम ढुङ्गेलले चाडपर्वमा एकतर्फी मात्र यात्रु पाइने हुँदा यातायात व्यवसायी र यात्रुबीच समन्वय गराउन ट्राफिक र सहायता कक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।