• १९ असोज २०८२, आइतबार

नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात

blog

आयात निर्यात बढाउन नेपालगन्जमा नाकामा निर्माण गरिएको आईसिपी । तस्बिर : सिराज खान

नेपालगन्ज, असोज ६ गते । जडिबुटी निर्यातका लागि देशकै प्रमुख नाका मानिने नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै उल्लेख्य परिमाणमा जडिबुटी निर्यात भएको पाइएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौ महिनामा मात्रै यो नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीको तुलनामा यस वर्ष जडिबुटी निर्यातमा ५१ प्रतिशत वृद्धि भएको बताउनुभयो ।

उहाँले चालु आवको दुई महिनामा करिब आठ करोड रुपियाँको तीन लाख ३० हजार छ किलो जडिबुटी निर्यात भएको जनाउँदै गत आवको सोही अवधीमा पाँच करोड रुपियाँको दुई लाख ९६ हजार किलो जडिबुटी निर्यात भएको बताउनुभयो । 

चालु आवको सुरुमै उल्लेख्य परिमाणमा जडिबुटी निर्यात भएपछि व्यवसायीहरु उत्साहित बनेको पनि नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आवको सुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

जडिबटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र सङ्कलन गर्ने तथा निर्यात गर्ने व्यवसायी दुबै उत्साहित भएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ ।

संघका अध्यक्ष टंक प्रसाद शर्माले आर्थिक वर्षको सुरुमै भारत लगायतका देशहरुबाट जडिबुटी लगायतको माग बढी आएकाले निर्यात वृद्धि भएको र यस्तै रहेमा यस पटक निर्यात धेरै हुने अनुमान गरिएको बताउनुभयो ।