नौरते नेपाली
सिँजा (जुम्ला), असोज ६ गते । जुम्ला गुठिचौर गाउँपालिका–२ को आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान सुरु भएको छ । पर्यटनको प्रचुर सम्भावना भएको तर ओझेलमा परेको गुठिचौर क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरु भएको हो । गत वर्ष भदौ २५ गते गुठिचौर गाउँपालिकाले पहिलो पटक पर्यटकिय क्षेत्र गुठिचौरमा प्याराग्लाइडिङ उडाएको थियो ।
यो पटक पनि पर्यटन प्रवर्धनका लागि असोज पाँचदेखि एघार गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो । वरिपरि डाँडा बिचमा चौर भएको अत्यन्तै रमणीय क्षेत्र गुठिचौरमा गाउँपालिकाले आयोजना गरेको प्याराग्लाइडिङ जुम्लाकै नमूना हो ।
गुठिचौरको आकाशमा प्याराग्लाइडिङ उड्दा स्थानीय दङ्ग भएका छन् । प्याराग्लाइडिङ महोत्सवमा रमाउन जुम्ला र आसपासका स्थानीयहरु गुठिचौर आइपुगेका छन् । एउटा उडानका लागि पालिका भित्रका स्थानीयलाई तीन हजार पाँच सय र पालिका बाहिरका लागि चार हजार रुपियाँ शुल्क लिने गरिएको छ ।
प्याराग्लाइडिङ क्षेत्रको अनुभवि कम्पनी बाबु एडभेञ्चर प्रा.लीले गुठिचौरमा गत वर्ष प्याराग्लाइडिङको सफल उडान परीक्षण गरेको थियो । यहाँको आकाश सहासिक यात्रा प्याराग्लाइडिङका लागि उपयुक्त ठहरिएपछि गाउँपालिकाले अनुभवि र दक्ष राइडर झिकाएर दोस्रो पटक प्याराग्लाइडिङ महोत्सव गरेको हो ।
प्याराग्लाइडिङ केन्द्र बन्दै गुठिचौर
पर्यटनमार्फत आर्थिक समृद्धिको लक्ष्य राखेको गुठिचौर गाउँपालिकाले यस क्षेत्रलाई कर्णालीको प्याराग्लाइडिङको मुख्य केन्द्र बनाउन लागेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले प्याराग्लाइडिङ महोत्सवले पर्यटकीय क्षेत्र गुठिचौरमा सबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरी आर्थिक उपार्जनका लागि सुरुवाति कदम भएको बताउनुभयो ।
सहासिक पर्यटनका लागि गुठिचौर उपयुक्त भएकाले संघ र प्रदेश सरकारसँग पूर्वाधार विकासका लागि पहल गरेर गुठिचौरलाई कर्णालीको प्याराग्लाइडिङको केन्द्रको रुपमा विकास गरिने उहाँले बताउनुभएको छ ।
गुठिचौर जुम्ला जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य हो । यहाँ दर्जनौं धार्मीक तथा ऐतिहासिक गन्तव्यहरु छन् । प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका क्षेत्रलाई गाउँपालिकाले पूर्वाधार विकास र प्रचारप्रसार गरेर प्रवर्धन गरिरहेको छ ।
गुठिचौरमा आकासे पर्व सुरु
पर्यटकीय स्थल गुठिचौरमा स्काई फेष्टिबल अर्थात् आकासे पर्व सुरु गरेको छ । पोखरा, स्याङजा र सुर्खेतमा नियमित उडान भरी सकेको अनुभवि पाइलटहरुले उडान भरि रहेका छन् । सानु बाबु सुनुवार लगायतको १२ जनाको टिमले गुठिचौरमा प्याराग्लाइडिङ उडाई रहेको प्रमुख प्रशासकीय अधिकृत माया बुढाले बताउनुभयो ।
प्याराग्लाइडिङमा १० लाख रुपियाँ शुल्क वापत सङ्कलन गर्ने र तीन लाख रुपियाँ स्थानीय सरकारले खर्च गर्ने उहाँको भनाइ छ । असोज ५ देखि ११ गतेसम्म प्याराग्लाइडिङ उडान हुने भएकाले इच्छुक व्यक्तिलाई समयमै टिकट लिन उहाँले अनुरोध गर्नुभएको छ ।
पर्यटकीय क्षेत्र गुठिचौरमा सबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरी आर्थिक उपार्जनका लागि महोत्सवको सुरुवात भएको उहाँले जानकारी दिनुभयो ।