• १९ असोज २०८२, आइतबार

गुल्मीका मुख्य कोतहरुमा घटस्थापनासहित नवदुर्गा पूजा सुरु

blog

गुल्मीको ऐतिहासिक इस्माकोत । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज ६ गते ।
गुल्मीका विभिन्न कोतहरुमा नवदुर्गा पूजा सुरु भएको छ । दसैँको पहिलो दिन सोमबार घर र कोतहरुमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा कोतहरु वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घटस्थापनाकै दिन जमरा राख्ने चलन पनि रहेको छ । जिल्लाका मुख्य कोतहरुमा घटस्थापानादेखि पूर्णिमासम्म विशेष पूजा हुने गर्दछ । इस्माकोत, धुर्कोट कोत, चन्द्रकोट कोत, मुसिकोट कोतलगायतका शक्तिपिठहरुमा घटस्थापनाका दिनदेखि पण्डित र पुजारीहरु १० दिनसम्म लगातार बस्ने गर्दछन् ।

मुसिकोट कोतमा पुजारीको रुपमा ठकुरी र सारु समुदायबाट अनिवार्य दुई जना चाहिन्छ भने पण्डितमा कुलपुज्ये पंगेनी र घिमिरे समुदाय चाहिने परम्परा रहेको छ । सप्तमीको दिन थापा समुदायको अनिवार्य उपस्थितिमा कुर्घाको बेलटारीबाट फूलपाती ल्याएपछि मैदानमा राखेर बाजागाजासहित डोलामा राखेर कोतमा भित्र्याउने प्रचलन रहेको मुसिकोट कोत व्यावस्थापन समिति अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभयो । नवमीमा मुसिकोट कोतमा बिशेष मेला लाग्ने गर्दछ । दशमीमा कोतमा टिकासहित सरायँ खेल्ने चलन रहेको सिंहले बताउनुभयो ।

इस्माकोतमा पनि घटस्थापनादेखि पूजा सुरु गरिन्छ । अर्याल परिवारका पण्डित, पुजारीमा खड्का अनिवार्य छ । सहायक पण्डितहरु दुई क्षेत्री पनि गरेर सात जनाले १० दिन इस्मा कोतमा नियमति पूजा व्यवस्थापनको काम गर्ने गर्दछन् । इस्मामा पनि रतन पाध्यका सन्तानहरुबाट फुलपाती ल्याउन रातामाटा जाने र बेलसहितको फलपाती इस्मा मैदानमा ल्याएपछि छत्र मन्दिरबाट खड्ग भगवानसहित बाजागाजासहित इस्माकोत जाने परम्परा रहेको मनकामना पूजा समिति इस्माकोतका अध्यक्ष खगराज बस्नेतले बताउनुभयो ।

फूलपातीमा पिशेष मालश्री गाउने र पट्टा खेल्ने पनि गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा दुवै परम्परा लोपको संघारमा छन् । इस्मा कोतमा नवमीमा विशेष मेला लाग्ने गर्दछ । दशमीमा टीकाको साइतसँगै खड्ग भगवानलाई बाजागाजासहित इस्मा मैदान खड्ग मन्दिरमा राखेर दसैँ सकिने मनकामना पूजा समिति इस्माकोतका अध्यक्ष बस्नेतले बताउनुभयो ।

ऐतिहासिक क्षेत्रको रुपमा रहेको धुर्कोट कोतमा  घटस्थापनाका दिनबाट विधिवत रुपमा पूजा गर्ने चलन छ । धुर्कोट कोतमा तारु जैसीका सन्तान पोख्रेलहरु पण्डित र तत्कालीन धुर्कोट राज्यका सिपाहीका सन्तान खड्का, थापा, कार्की र घर्तिक्षेत्रहरुबाट पुजारी कोतमा पस्ने चलन रहेको हिमालय मावि धुर्कोट गाउँपालिका–५ वस्तुका प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । फूलपातीका दिन जैसीथोकको बाटुलेमा पुगेर फुलपाती ल्याउने र धुर्कोट कोतको केहि तल बाजागाजासहित कोतबाट गएर फूलपाति साँझ भित्र्याउने परम्परा रहेको छ । यो कोतसँग वस्तुको कालिका मन्दिरको नजिकको सम्बन्ध रहेको छ । अष्टमीको दिन पोख्रेल परिवारबाट कालिका मन्दिरमा पूजा भएपछि धुर्कोट कोतमा बल्ल हुने अगुवा भण्डारीले बताउनुभयो । नवमीको दिन धुर्कोट कोतमा विशेष पूजा गर्ने चलन रहेको छ ।

तत्कालीन बाइसेचौविसे राज्यका दरबार र कोतहरु भएका इस्मा, मुसिकोट र धुर्कोटसहित  दसैँको बेला विभिन्न तिथीहरुमा बली दिने र पूजा गर्ने जिल्लाका धेरै स्थानमा दुर्गा मन्दिहरु छन् । दसैँको भोलिपल्टबाट सरायँ खेल्ने प्रचलन रहेको छ ।