रवीन्द्र उप्रेती
बर्दिबास, असोज ५ गते । चुरे क्षेत्रमा परेको भीषण वर्षाले महोत्तरीको बर्दीबास–३ स्थित चुरे क्षेत्रमा पर्ने पाटु गाउँमा तीन दिनदेखि खानेपानीको आपूर्ति ठप्प भएको छ । शुक्रबार अपराह्न परेको भारी वर्षापछि भोगटे खोलामा आएको बाढीले पवनेश्वर खानेपानी उपभोक्ता समितिको मुहान र पाइपलाइनमा गम्भीर क्षति पुर्याएको छ ।
आपूर्ति बन्द हुदा गाँउका ४ सय परिवार समस्यामा छन् । विकल्पमा खोलाको बालुवा खोस्रेर पानी पिउन बाध्य भएको गाउँले ले जनाएका छन् । ‘बाढी पसेदेखि घरका धारा सुकेका छन्’ स्थानीय रमेश क्षेत्रीले पीडा पोख्नुभयो ‘हामी रातु खोलाको जरुवा पानी पिउन बाध्य छौं ।’
बाढीले भोगटे खोलाको शीरमा रहेको पानीको मुहान पुर्नुका साथै पाइपलाइनका विभिन्न खण्ड बगाएपछि सेवा अवरुद्ध भएको हो । समितिका अनुसार खोलामा आएको बाढी यो मनसुनको अहिलेसम्मकै ठुलो थियो ।
स्थानीय रमेश क्षेत्रीका अनुसार भीषण वर्षापछि कारे, भोगटे र रातु खोलामा एकैपटक बाढी आएको थियो । जसमध्ये भोगटे खोलाले मुहानमा हिलो माटो थुपार्नुका साथै पानी रिचार्जका लागि बनाइएको २ मिटर अग्लो र १० मिटर लामो बाँधमा पनि ठुलो क्षति पुर्याएको छ ।
समितिका सचिव कृष्ण भण्डारीका अनुसार गाँउदेखि ७–८ किलोमिटर टाढा पर्ने मुहानसम्मको पैदल यात्रा पनि जोखिमपूर्ण बनेको छ । चुरेको भिरालो डाँडा चढ्नुपर्ने र बाढीले बाटो समेत भत्काएले मर्मत कार्यमा थप कठिनाइ भएको हो ।
साधन स्रोत अभाव भएकोले बाह्य सहयोग बिना उपभोक्ता समितिको क्षमताले मुहान तथा पाइपलाइन मर्मत सम्भव नभएको सचिव भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘मर्मत नगरेसम्म पानी आपूर्ति तत्काल सम्भव नभएकोले गाँउमा पानीको समस्या लम्बिने देखिएको छ ।’
पानीको चरम सङ्कटका बिच बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले उपभोक्ता समितिलाई राहत स्वरूप एक थान मोटर र केही मिटर पाइप उपलब्ध गराएको समितिले जनाएको छ । यो सहयोगको भरमा समितिले ०५२ सालदेखि प्रयोगविहीन अवस्थामा रहेको पुरानो इनार सफा गरेर शनिबारदेखि अस्थायी समाधानको प्रयास थालेको छ ।
इनारबाट मोटरमार्फत पानी तानेर ट्याङ्कीमा भण्डारण गरिने र त्यहाँबाट वितरण गरिने समितिले जनाएको छ । सचिव भण्डारीका अनुसार भने गाउँमा दैनिक करिब १ लाख लिटर पानी आवश्यक पर्छ । इनार र मोटरको क्षमता अत्यन्त सीमित भएकाले दीर्घकालीन समाधान यसले गर्न सक्दैन ।
नगर प्रमुखको सहयोगले केही राहत दिएको भए पनि दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेश सरकार, गैरसरकारी संस्था र स्थानीयको सहकार्य अपरिहार्य रहेको गाँउलेको भनाइ छ । २०५२ सालमा युनिसेफको सहयोगले निर्माण गरिएको पवनेश्वर खानेपानीले चुरे क्षेत्रमा रहेको बर्दीबास-३, पाटु गाँउका ४०० परिवार लाभान्वित हुँदै आएका थिए ।