बाबुराम कार्की
वराहक्षेत्र, भदौ ४ गते । परम्परागत घरेलु सिपलाई अङ्गाल्दै आउनुभएका ५२ का तिलक कालिकाटे आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ । लामो समय माओवादी जनयुद्धमा राजनीतिक फाटमा काम गर्नु भएका कालिकाटे आरन व्यवसायबाट राम्रो आम्दानी लिँदै आउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको वराहक्षेत्र नगरसदस्य समेत रहनुभएका तिलक कालिकोटे सुनसरीको प्रकाशपुरमा पछिल्लो ९ वर्षदेखि परम्परागत आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । २०७४ सालदेखि आरन व्यवसाय गर्दै आउनुभएका कालिकोटेले तीन जनालाई रोजगार समेत दिँदै आउनुभएको छ ।
दैनिक बिहान उठेदेखि साझ अबेरसम्म आरनमै सामान बनाउन व्यस्त रहने गरेको कालिकोटे बताउनुहुन्छ । उहाँसँगै तीन जना सहयोगीले बनाएको दैनिक प्रयोगमा आउने घरैलु औजारको माग समेत राम्रो रहेको छ । उहाँका अनुसार घरेलु औजार दैनिक प्रयोमा आउने हुँदा उपभोक्ताको माग समेत राम्रो रहेको छ । परम्परागत कृषि तथा घरेलु सामग्री खुकुरी, दाउ, हसीया, कोदालो, चुलेसी, तरवार, कट्टी, बञ्चरो लगायतका सामग्री आरनमा बनाउँदै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, "पछिल्लो समय रेडिमेड भाडाकुडा बजारमा पाइने हुँदा धेरैले यो पेसा नै छोडिसकेका छन् । आफूले भने पुर्ख्याैली पेसालाई नै व्यवस्थित तरिकाले व्यवसायिक बनाएर आम्दानी लिदैँ छु ।” आरनबाटै राम्रो आम्दानी हुने भएकाले आफ्नो पेसाप्रति सन्तुष्ट रहेको उहाँ सुनाउनुहुन्छ ।
परम्परागत रूपमा सामान्य ज्यालादारी, अन्नपातमा चलाउँदै आएको आरन पेसालाई व्यवसायीकरण गरी चलाएपछि राम्रो आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । बाउबाजेले गर्दै आएको पेसालाई नै व्यवस्थित र व्यवसायिक रूपमा चलाउन थालेपछि आरनबाटै वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, उहाँ भन्नुहुन्छ । यही आम्दानीबाटै घरपरिवार चलाउनुका साथै तीन जनालाई रोजगारसमेत प्रदान गर्दै आउनुभएको छ ।
उहाँको आरनमा बनाएको खुकुरीको दर एक हजारदेखि २५ हजार सम्मका छन् । परम्परागत औजारहरूको माग हुँदा आम्दानी पनि राम्रौ हुने गरेको छ । कालिकोटे भन्नुहुन्छ, “हातमा सीप र जाँगर भए खालिहात बस्नु पर्दैन । बाबुबाजेले गर्दै आएको काम आफूले सानैमा सीप सिकेकाले रोजगारी सिर्जना भएको उहाँ बताउनु हुन्छ । व्यवसायिक रूपमा झन्डै एक दशकदेखि आरनमा घन, मैरी, रेती, सनासो र चर्खासँगै खेल्ने गरेको छु ।’
आफ्नो पुर्ख्याैली पेसा फलामे औजारसम्बन्धी सीप बाबु बाजेबाट सिकेकोले व्यवसाय चलाउन सहज भएको उहाँको भनाइ छ । पहिला पहिला गाउँघरमा बाउबाजेले आरन पेसा बालीघरे चलनअनुसार गर्दा पैसा देख्नै मुस्किल हुन्थ्यो । अहिले आफूले नगदमा कारोबार गर्ने भएकाले आर्थिक रूपमा राम्रो भएको छ । फलामे औजारसम्बन्धी सीपले नै आफूलाई आजको अवस्थामा ल्याइपुर्याएको बताउनु हुन्छ ।
"सिप नभएको भए परिवार पाल्न पनि ग्राह्रो हुने रहेछ", उहाँ भन्नुहुन्छ ।
आरनकै व्यवसायको कमाइबाट पाच जनाको पालनपोषणसँगै घर व्यवहार गर्दै आएको छु । काम लाई कहिले सानो मान्नु नहुने उहाँ बताउनु हुन्छ । खट्न सक्ने हो भने आरनबाट राम्रै कमाइ हुने इनरुवा-२ मा आरन व्यवसाय गर्दै आउनु भएका ३५ वर्षका लडु शर्मा बताउहुन्छ । रोजगारीको खोजीमा भौंतारिए भन्दा युवाहरुले सिप सिकनु पर्ने उहाँको भनाइ छ ।
उहाँहरुले सञ्चालन गरेको आरनमा बाबु, छोरा लगायत परिवारका अन्य सदस्यले पनि सहयोग गर्दै आउनु भएको छ । उहाँको बुवा ५६ का खेजेन्द्र शर्मा समेत आरनमा खट्ने गर्नु भएको छ । सबै परिपारको पालनपोषण आरन व्यवसाय बाटै हुँदै आएको खेजेन्द्र शर्माको भनाइ छ ।