• १९ साउन २०८२, सोमबार

पोलिसी डायलग अन अटोमोबाइल सम्पन्न

blog

पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी कार्यक्रममा सहभागि ।

काठमाडौँ, साउन १९ गते । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी–२०२५ सम्पन्न भएको छ ।

डायलग कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले समेत गर्न नसकेको कार्य नासा नेपालले गरिरहेको र देश तथा विदेशका विभिन्न संस्थाहरुसँग जोड्ने तथा बेटर मोबिलिटीका लागि घच्घच्याउने कार्य गरिरहेकोमा खुसी व्यक्त गनर्जुभयो । मन्त्री दाहालले आगामी दिनमा सरकारले सडक सुरक्षाको विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता पनि जाउनुभयो । 

कार्यक्रममा मुख्य वक्ताको रुपमा फिलिपिन्सको मनिलामा हेडक्वाटर रहेको एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरीका चेयरपर्सन एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) का भाइस प्रेसिडेन्ट, अटोमोबाइल एसोसिएसन अफ भियतनामका फाउन्डर प्रेसिडेन्ट तथा एआईपी फाउन्डेसनका संस्थापक ग्रेग क्राफ्ट तथा वक्ताहरुमा फेडरेसन अफ इन्डियन अटोमोबाइल एसोसिएसन तथा वेस्टर्न इन्डिया अटोमोबाइल एसोसिएसनकी महासचिव रणजित कौर विर्क तथा स्कुल अफ अटोमोटिभ, नामटेक इन्डियाका डाइरेक्टर डा. केसी वोरा लगायतको उपस्थिति रहेको थियो । 


पहिलो दिन ‘इन्फर्मेटिभ सेसन’

डायलगको पहिलो दिन ‘इन्फर्मेटिभ सेसन’ मा मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, नाडा कार्यसमिति सदस्य कपिल शिवाकोटी र नासा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक सुवाश भट्टराईले जानकारीमूलक सामग्री प्रस्तुत गर्नुभएको थियो । 

पोलिटिकल कमिटमेन्ट सेसनमा पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य तथा एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक योगेश भट्टराई, राष्ट्रिय सभा सदस्य गरिमा शाह, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीबिच प्यानल डिस्कसन भएको थियो ।

प्यानलमा राजनीतिक नेतृत्वले अटोमोबाइल र मोबिलिटीका लागि गरिरहेको र आगामी दिनमा आआफ्नो क्षेत्रबाट गर्नु पर्ने कार्यका वारेमासमेत प्रतिबद्धता व्यक्त गरिएको थियो । 

ब्रेनस्टोर्मिङ विथ इन्टरनेसनल स्पिकर्स सेसनमा ग्रेग क्राफ्ट, रणजित कौर विर्क र डा. केसी बोराले अन्तर्राष्ट्रिय स्तरमा भएका अटोमोटिभ इनोभेसन तथा सडक सुरक्षा र अन्य क्षेत्रमा भइरहेका कार्य वारेमा चर्चा गर्नुभयो । 

ग्रेग क्राफ्टले टु ह्विलर सेफ्टी, हेल्मेट तथा एसियाली सडक सुरक्षाको विषयमा, कौरले दक्षिण एसियाको दिगो पर्यटनमा आईडीपी, सीडीपी तथा क्रस बोर्डर कनेक्टिभिटी लगायतका विषयमा र बोराले अटोमोबाइल क्षेत्रलाई सुरक्षित बनाउनका लागि भइरहेका कार्य वारेमा चर्चा गर्नुभयो । 

सेफर मोबिलिटी सेसनमा डा. भगवती सेढाईले ‘मोटरसाइक्लिस्ट सेफ्टी र युथ मोबिलिटी’ विषयमा प्रस्तुतिकरण गरिन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सिनियर कन्सल्टेन्ट रविन्द्र बास्कोटा र काठमाडौँ पोडवेका सीटीओ परिवेश पराजुलीले सम्बन्धित विषयमा जानकारी दिनुभएको थियो । 

त्यसैगरी युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका रिसर्च–फेलो एवम् सडक यातायातका अनुसन्धानकर्ता डा। पुष्पराज पन्तले ‘बेलायतको रोड क्लासिफिकेसन, पब्लिक ट्रान्सपोर्टेसन र भेइकल सर्टिफिकेसन’ विषयमा अनलाइनमार्फत प्रस्तुति दिनुभएको थियो । 

इनोभेटिभ सेसनमा काठमाडौँ युनिभर्सिटी, स्कुल अफ इन्जिनियरिङका असिस्टेन्ट प्रोफेसर सिरपा श्रेष्ठ र गोकर्ण पौडेल तथा त्रिभुवन विश्वविद्यालय, थापाथली क्याम्पसका असिस्टेन्ट प्रोफेसर लोचन केन्द्र देवकोटा, टेलिम्याटिक्स प्रालिका सीईओ आतिश गैरे र ड्रोन हब नेपालका म्यानेजिङ डाइरेक्टर प्रविण भट्टराईले आ–आफ्नो क्षेत्रमा भइरहेका एकेडेमिक कार्यहरु तथा इनोभेसनका बारेमा चर्चा गर्नुभयो । 


सस्टेनेबल मोबिलिटी सेसनमा युनिभर्सिटी अफ मलाया, मलेसियाका पीएचडी स्कलर प्रेमलाल तामाङ, नेपाल साइकल सोसाइटीका महासचिव तथा सहरी योजनाविद् राकेश महर्जन र वातावरण अभियन्ता सञ्जय पोखरेलले विशेष गरी इलेक्ट्रिक भेइकल र साइक्लिङ तथा नेपालमा वाटरवेज र त्यसको सुरक्षा लगायतका विषयमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पद्म बहादुर शाहीले ‘कम्प्यारेटिभ स्टडी अफ नेपाली जियोग्राफी एन्ड पपुलेसन, रोड एन्ड ट्रान्सपोर्ट’ विषय मा जानकारीमूलक सामग्री प्रस्तुत गर्नुभएको थियो । 

यस्तै टेक्निकल सेसन अन्तर्गत नेपालमा राइड सेयरिङको चुनौती र अवसरमा एकराज सुवेदीको प्रस्तुति रहेको थियो भने नासा नेपालका सचिव सन्तोष न्यौपानेको ‘आईडीपी एन्ड यूएन रिजोलुसन’ विषयमा प्रस्तुतिकरण रहेको थियो ।

कार्यक्रममा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, नेपाल अटो मेकानिक्स व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नासा फाउन्डेसन नेपालका संयोजक कृष्ण सिंह बस्नेत लगायतले विविध विषयमा चर्चा गर्नुभएको थियो । 

राईलाई नेसनल रोड सेफ्टी अवार्ड

ट्राफिक अभियन्ता शेखर चन्द्र राईलाई नेसनल रोड सेफ्टी अवार्ड तथा प्रशंसापत्र समेत प्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सो अवार्ड राईलाई हस्तान्तरण गर्नुभयो । सडक सुरक्षाको क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्ति वा संस्थाहरुलाई सो अवार्ड प्रदान गरिन्छ ।


त्यसैगरी नासा नेपालले नेपालमा सडक सुरक्षालाई अझै प्रभावकारी बनाउनका लागि मोटरिङ एकेडेमी र ईभिजन नेपालको समेत सुरुवात गरेको घोषणा पनि गरेको छ । कार्यक्रममा उपस्थित मन्त्री दाहाल लगायत विशिष्ट व्यक्तिहरुले सो अभियानको शुभारम्भ गर्नुभयो । 

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) का वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपाली अटोमोबाइल क्षेत्रलाई थप विश्वसनिय, व्यावसायिक र विश्वव्यापी बनाउने तथा समाजको महत्वपुर्ण अर्थ–राजनीतिक एजेन्डा बनाउने र नेपालका शैक्षिक तथा पेशागत संस्थाहरुसँगको सहकार्यको सुरुवात यसै डाइलगबाट हुने विश्वास गरेको बताउँदै आगामी महिना फिलिपिन्सको मनिलामा हुने एसिया प्यासिफिक रोड सेफ्टी सम्मेलनमा सो डायलगका निष्कर्षलाई प्रस्तुत गर्ने जानकारी दिनुभयो । 

नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साउन १७ र १८ गते अर्थात अगस्ट २ र ३ तारिखमा सम्पन्न भएको डायलगको सञ्चालन तथा संयोजन नासा नेपालका मोबिलिटी म्यानेजर किरण धिताल, मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशीष रौनियार एवम् स्पोर्ट्स तथा इभेन्ट म्यानेजर अंकित भण्डारीले गर्नुभएको थियो । 

नेपालको अटोमोबाइल क्षेत्रमा विगत १७ वर्षदेखि क्रियाशील नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) अटोमोबाइल, मोबिलिटी, मोटर स्पोट्र्स, पावर बोटिङ, ई–स्पोट्र्स तथा ड्रोन र सडक सुरक्षा लगायतका क्षेत्रमा संलग्न छ ।