पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, साउन १८ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ ।
विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने गरेको बताइएको छ । गम्भीर अवस्थाका विद्यार्थीहरूलाई भने अभिभावकलाई खबर गरेर अस्पताल पठाइन्छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, नर्सहरूले औषधोपचारसँगै विद्यार्थीहरूलाई भावनात्मक सहयोग पनि प्रदान गर्छन् । यसले अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालयमा सुरक्षित छन् भन्ने विश्वास दिलाएको छ ।
नर्सको व्यवस्था भएपछि छात्राहरूले आफ्ना स्वास्थ्य समस्याहरू खुलेर राख्न पाएका छन् । विद्यालयमै सेनेटरी प्याड उपलब्ध हुनु र आराम गर्ने छुट्टै कोठाको व्यवस्थाले महिनावारीको समयमा विद्यालय नआउने समस्या कम हुने विश्वास गरिएको छ।उपचारका अतिरिक्त, नर्सहरूले विद्यार्थीहरूलाई रोग लाग्नबाट कसरी बच्ने भन्ने बारे पनि जानकारी दिन्छन् ।
बर्दघाट नगरपालिका– ५ मा रहेको शान्ति निकुन्ज माविका प्रधानाध्यापक विनोद खनालले विद्यालयमा नर्सको व्यवस्था भएसँगै विद्यार्थीलाई धेरै सजिलो भएको बताउनुहुन्छ । आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ । विद्यार्थीहरुलाई सरसफाई र स्वास्थ्यका बारेमा समेत विद्यालय नर्स मार्फत जानकारी दिँदै आइएको खनालले बताउनुभयो ।
यसले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना बढाउन मद्दत गरेको छ । हाल, मावि तहका विद्यालयहरूमा १५–१५ दिनमा नर्सहरूलाई पठाइन्छ । स्थानीय स्रोतबाट दुई जना नर्सहरूको व्यवस्थापन गरिएको छ र थप एक जना नर्सको माग गरिएको छ । स्थानीय स्रोतबाट दुई वटा नर्स व्यवस्थापन गरिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउनुका साथै उनीहरूको नियमित विद्यालय आगमन र सरसफाइमा पनि सकारात्मक प्रभाव पारेको छ ।