इमान सिं राना
रामपुर (पाल्पा), साउन १६ गते । रामपुर नगरपालिका–५, बेझाँड बजारमा हाइमास्ट लाइट जडान गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नगरको मुख्य बजार बेझाँड बजार चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेशमार्फत हाइमास्ट लाइट जडान गरिएको हो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र सम्भावित अपराधिक घटना हुन नदिन लाइट जडान गरिएको बताउनुभयो ।
लाइटको विद्युत महशुल नगरपालिकाले भुक्तानी गर्ने उहाँले बताउनुभयो । बजार क्षेत्रको सुरक्षासँगै व्यवसायीहरुको सहजताका लागि हाइमास्ट लाइट जडान गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
लाइट जडान छ लाख रुपियाँ लागतमा सम्पन्न भएको बताउनुभयो । बेझाँड बजारलाई उज्यालो शहरको रुपमा स्थापित गर्न विभिन्न स्थानका सडक र चोकहरुमा सडक लाइट जडान गरिएको छ । लाइट जडान संगै रातको समयमा व्यवसाय सञ्चालन गर्न सहज हुने व्यवसायी घनश्याम ढुंगानाले बताउनुभयो ।
रामपुर नगरपालिकाले माग गरे अनुसार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलाय लुम्बिनी प्रदेशमार्फत १६ मिटर उचाईको पोलसहित, प्रति वल्ब तीन सय वाट क्षमताकोे ८ वटा गरी दुई हजार चार सय वाट क्षमताको लाईट जडान गरिएको हो । रामपुर नगर क्षेत्रमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरु बेझाँड बजारमा रहेका छन् ।