• ६ साउन २०८२, मङ्गलबार

हप्ता नबित्दै उप्कियो पिच

blog

कालोपत्रे गरिएको सडक उप्किँदै । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता 

कञ्चनपुर, साउन ६ गते । कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ । पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको हो ।  सुदूरपश्चिम प्रदेश सरकारको १६ करोड २६ लाख १७ हजार लगानीमा झन्डै १७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । कमसल सामग्रीको प्रयोग गरेर सडक कालोपत्रे गरिएको भन्दै स्थानीयले सडक मर्मत गरिनुपर्ने माग राखेका छन् । 

स्थानीय लोकराज गिरीले वडा नम्बर ९ स्थित बिचफाँटादेखि त्रिभुवन बस्तीसम्म कालोपत्रे गरिएको सडकको कालोपत्रे उप्किन थालेको बताउनुभयो । सडकको मर्मत र पुनर्निर्माणका लागि ठेकेदारसँग आग्रह गरिए पनि बेवास्ता गरेको उहाँले बताउनुभयो । 

ठेकेदारको चरम लापर्बाहीका कारण सडकको कालोपत्रे उप्कन थालेको स्थानीय अनिल सुनारले बताउनुभयो । चालु आर्थिक वर्षको अन्तिमतिर हतार हतारमा उक्त सडकको कालोपत्रे गरिएको उहाँले बताउनुभयो । असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा कमसल सडक निर्माण गरिएको उहाँले आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन, यसरी सडकको कालोपत्रे गरिँदा सडकमा लगाएको लगानी खेर जाँदै गर्दा राज्यको ध्यान गएको छैन ।” 

ठुला सवारीसाधन चलाउँदा उक्त सडक महिना दिनमै भत्कने भन्दै स्थानीयले सडक मर्मत, पुनर्निर्माण र गुणस्तरहिन सडक निर्माण गर्नेलाई कारबाहीको मागसमेत गरेका छन् । पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले नागरिकस्तरबाट गुणस्तरहिन सडकबारे समयसमयमा गुनासो आउने गरेको बताउनुभयो । 

नगरप्रमुख शर्माले प्रदेश सरकारले पुनर्वासमा सडक निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएपछि स्थानीयमा आक्रोश देखिएको बताउनुभयो । सडकको गुणस्तरीय मापदण्ड अनुरूप सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने नगरप्रमुख शर्माले प्रतिबद्धता जनाउनुभयो । 

निर्माण गर्नुपर्ने जिम्मा पाएको सडक कम्पनीले भने अझै सडक निर्माणको म्याद थप भएकाले मर्मत गरिने जनाएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले आव २०७९/८० मा शङ्करजोशी जेभीलाई २०८१ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको थियो । असार मसान्तमा काम पूरा गर्ने जिम्मेवारी दिए पनि पुस मसान्तसम्म म्याद थप गरिएको जनाइएको छ । सडकको कालोपत्रे भत्किन थालेको भन्नु गलत भएको कार्यालयले जिकिर गरेको छ । 

स्थानीयले हातले भत्काएको तर सडक आफैँ भत्किन थालेको भन्ने गलत कुरा रहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले बताउनुभयो । सडकमा ठुला गाडी नचल्दा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी चल्दै जाँदा गिट्टी तल जाने र कालोपत्रेको भाग माथि आउने हुन्छ, तर ठुला गाडी नै नचल्ने क्षेत्रमा सडक कालोपत्रे गरिँदा कालोपत्रे उप्किएको जस्तो देखिएको छ ।” 

सडक गुणस्तरीय निर्माण भए, नभएको बारे स्थलगत अनुगमन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार, हालसम्म उक्त सडकको ७० प्रतिशत मात्रै निर्माण भएको छ । सो सडक कहीँ कतै भत्किएको भए पुनर्निर्माणका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।