काठमाडौँ, साउन ३ गते । बाखपा एपको प्रस्तुति नयाँ हास्य शृंखला ‘गाँवै रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघि बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउँदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताएका छन् ।
सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ सुनमान्छेसँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । सुनमान्छे खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै सुनमान्छेसँग बिहे गर्छिन् । अनि तनावमा खुइली ।
यो सिरियलले सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कमेडी ड्रामामा आधारित सिरियल रहेको निर्देशक राउतको भनाइ छ । ‘सातौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मिहिनेत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हास्यव्यंग्यलाई अझै परिस्कृत गरेर आगामी शृंखला ल्याउने तयारी छ।’
हास्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवापिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ। यो टेलि चलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। यस सिरियलमा कलाकार दमन रुपाखेती, यासेली योङहाङ, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, गणेश ए सी, जय कुमार थापा, सुभाना राई र पुष्पाञ्जली तिल्लिङ र राजन राई लगायतको अभिनय देख्न सकिन्छ ।
‘गाँवै रमाइलो’ भिडियो यहाँ हेर्न सकिन्छ ।