अमरगढी समाचारदाता
डडेलधुरा, साउन १ गते । डडेलधुरा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाएपछि यहाँ विरोध सुरु भएको छ । हजारौँ बिमितलाई स्वास्थ्य बिमा कार्यक्रमबाट वञ्चित हुने गरी प्रथम विन्दुबाट हटाइएको विरोधमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गरी प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । अन्य दलका नेता र सर्वसाधारण पनि त्यसविरुद्ध आन्दोलित छन् ।
यस्तै सामाजिक क्षेत्रमा पैरवी गर्दै आइरहेको बोलन्या थली नाम संस्थाले अस्पतालको मुख्य प्रवेशद्वारमा कालो ब्यानर लगाएको छ । बोलन्या थलीका अध्यक्ष यादव जोशीले स्वास्थ्य बिमाको प्रथम विन्दु हटाएको विरोधमा कालो ब्यानर राखिएको बताउनुभयो ।
स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र सङ्घीय अस्पतालका रूपमा रहेको डडेलधुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ । प्रथम सेवाविन्दुबाट हटाइएसँगै साउन १ गतेदेखि प्रथम सेवा विन्दुबाट सिफारिस लिएर आएका बिमित बिरामीले मात्र डडेलधुरा अस्पतालमा बिमा सुविधा पाउने जानकारी अस्पतालले गरेको छ । डडेलधुरामा प्रथम सेवा विन्दु जोगबुढा अस्पताललाई राखिएको छ ।