विजयकुमार साह
ढल्केबर, असार २६ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उहाँका ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार असार १८ गते साँझ साहकै घरमा घरायसी विवादका क्रममा महासेठले चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनापछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले मृतककी श्रीमती शैलदेवीले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार हत्या अभियोगमा पक्राउ परेका महासेठलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु र अभियुक्त चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर बरामद गरेको छ । मृतकका परिवारका अनुसार बेचनले पटकपटक पैसाको माग गर्दै आएका थिए । पैसाकै विषयलाई लिएर दुईबिच वादविवाद हुँदै आएको र यही विवाद हत्यासम्म पुगेको परिवारको भनाइ छ ।
मृतक वासुदेवले यसअघि नै ज्वाइँबाट आफूलाई खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका थिए । यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।