• २५ असार २०८२, बुधबार

सञ्चालनमा आउन सकेन राजविराजमा रहेको बसपार्क

blog

सुनसान देखिएको सप्तरीको सदरमुकाम राजविराजमा रहेको बसपार्क । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), असार २५ गते ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको एक मात्र बस पार्क सञ्चालनमा आउन सकेको छैन । उद्घाटन भएको दुई महिना बितिसक्दा बस पार्क सञ्चालनमा आउन नसकेपछि सवारीसाधनहरू सडकमै पार्किङ गरिएको छ । जसका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

सवारीसाधनका पार्किङका लागि बनाइएको बसपार्कमा सवारीसाधन नल्याए बजारको मुख्य सडकमै पार्किङ गरिँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो ।

चार दशकको पर्खाइपछि बनेको बसपार्क उद्घाटन भएको दुई महिना बितिसक्दा पनि  सुनसान भएको स्थानीयको भनाइ छ ।बसपार्क सञ्चालनमा आएपछि सवारीसाधन सडकमै पार्किङ गर्ने समस्या हट्ने र आवतजावत सर्वसाधारणलाई सहज बताइएको थियो । समस्या भने यथावत् नै रहेकाले बसपार्क निर्माण गर्नु अर्थहीन भएको राजविराज नगरपालिका–७ का स्थानीय नरेश चौधरीले बताउनुभयो ।

करिब १६ करोड ३८ लाख ९६ हजार पाँच सय १९ रूपियाँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्कको उद्घाटन गत जेठ १५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनले गर्नुभएको थियोे ।

यातायात व्यावसायी सङ्घ सप्तरीका अध्यक्ष पशुपति साहले नगरपालिकाका नेताहरूको आपसी द्वन्द्वका कारण यातायात व्यावसायी मर्कामा परेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस विषयमा नगरपालिका जिम्मेवार बन्नुपर्ने देखिए पनि त्यस्तो हुन नसकेकाले सम्बन्धी पक्षलाई बोलाएर छलफल गर्ने बताउनुभयो ।

२०७४ पुसमा सम्झौता भएको राजविराज बसपार्कको निर्माण काम २०७७ पुसमा सक्नुपर्ने भए पनि ६ पटकसम्म म्याद थप गरी गत वैशाखमा ठेकेदार कम्पनीले निर्माण काम पूरा गरेको थियो ।